आबेद्वारा युद्धताकाका ज्यादतीप्रति दुख व्यक्त

  • 14 अगस्ट 2015
तस्वीर कपीराइट Reuters
Image caption प्रधानमन्त्री आबेले भावी पुस्ताहरुलाई क्षमा मागिरहन बाध्य तुल्याउन नहुने बताए

जापानका प्रधानमन्त्री शिन्जो आबेले दोस्रो विश्व युद्धमा जापानको पराजयको ७० औं वर्षगाँठको बेला बोल्दै दशौं लाख निर्दोषको बलिदानप्रति दुख प्रकट गरेका छन्।

चीन र दक्षिण कोरियाले निकै ध्यान दिएर सुनेको उनको सम्बोधनमा आबेले जापानले उक्त क्षेत्रमा पुर्याएको कष्टप्रति दुख जनाउनु पर्ने बताए।

तर उनले क्षमा भने मागेनन्।

अघिल्ला सरकारहरुले प्रकट गरेका क्षमा र दुखलाई समर्थन गरे पनि आबेले आफ्नो तर्फबाट नयाँ र औपचारिक क्षमा भने मागेनन्।

माफी

जापानले युद्धताका गरेको ज्यादतीलाई ढाकछोप गर्ने हो कि भन्ने चिन्ताका माझ एशियाली देशहरुले उनको सम्बोधनलाई नजिकबाट नियालिरहेका छन्।

जापानको युद्धकालीन शासनका कारण चीन र दक्षिण कोरियाले अत्यधिक कष्ट बेहोरेका थिए।

उनीहरु भन्छन्, ती ज्यादतीका लागि जापानले पूर्ण रुपमा कहिल्यै माफी मागेको छैन।

प्रधानमन्त्री आबेले दोस्रो विश्व युद्धताका जापानी सेनाद्वारा कब्जा गरिएका क्षेत्रमा यौन दासीका रुपमा अत्याचारमा पारिएका कम्फोर्ट विमेनहरुका बारेमा प्रत्यक्ष केही बोलेनन्।

आत्मसम्मान

उनले केवल बीसौं शताव्दीमा युद्धताका थुप्रै महिलाहरुको आत्मसम्मान र मर्यादामा गम्भीर आँच पुगेको उल्लेख गरे।

बीबीसी न्यूजका टोक्योस्थित संवाददाता रुपर्ट विङ्गफिल्ड भन्छन्, आबेले आफ्नो सम्बोधन मार्फत निकै सावधानी अपनाएका छन्।

विगतका जापानी सरकारहरुले मागेको माफीहरुलाई समर्थन गरेपनि भावी पुस्ताले अन्तहीन रुपमा क्षमा मागीरहनु नपर्ने उनले बताए।

विश्वले जापानलाई सदा माफी मागिरहन आग्रह गरिरहन नहुने पनि उनले बताए।