विवादित विषय परिमार्जन हुन बाँकी

  • 15 अगस्ट 2015
तस्वीर कपीराइट BB
Image caption सीमाङकनको विरोधमा विभिन्न जिल्लामा प्रदर्शनहरु भइरहेका छन्

दलहरुले सहमति गरेको प्रदेशको सीमाङकनबाट उत्पन्न असन्तुष्टिहरुलाई सम्बोधन गर्ने गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको मस्यौदा समिति अन्तर्गतको कार्यदल शनिबारसम्म ठोस सहमतिमा पुग्न नसकेको बताइएको छ।

हाल सहमतिका विषयमा मस्यौदा तयार पारिरहेको कार्यदलले आईतवार मात्र विवादित विषयमा टुङगो लगाएर प्रतिवेदन तयार पार्ने बताइएको छ।

त्यस्तै ४ दलका शीर्ष नेताहरुका बीचमा पनि विवादित विषयमा छलफल जारी रहेको बताइएको छ।

यस क्रममा देशका विभिन्न भागमा भएका विरोधका कार्यक्रमहरु भने रोकिएका छैनन्।

परिमार्जन

विभिन्न क्षेत्रमा भइरहेको सीमाङकनको विरोधलाई सम्बोधन गर्ने गरि सम्वाद समितिले बनाएको शीर्ष नेता सम्मिलित विशेष समिति र मस्यौदा समितिले बनाएको कार्यदल ठोस सहमतिमा पुगिनसकेको बताइएको छ।

शनिवारसम्म सहमति भएका विषयलाई मस्यौदा प्रतिवेदनमा समेट्ने काम गरेको कार्यदलले सीमाङकन लगायतका विषयमा आईतवार मात्र टुङगोमा पुगिने जनाएको छ।

उक्त कार्यदलका सदस्य सभासद अइन्द्र सुन्दर नेम्वाङ्गले भने "सहमति भएका विषय वस्तु सक्ने भनेर राति पनि सिहदरबारमा बसिरहेको छौं, विवादित विषयमा एक दुई चरण छलफल भइसकेको छ अन्तिम चरणको छलफल गरेर आईतवार प्रतिवेदन तयार गर्ने भनेर लागिरहेका छौं।"

शीर्ष नेताहरुका बीचमा पनि विविध मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा लगातार छलफल भइरहेको बताइएको छ।

सहमति भएको ६ प्रदेश को प्रारुप भित्रै रहेर ती मागहरुलाई सम्बोधन गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन्।

दलहरुले प्रदेशको सीमाङकनको टुङगो लगाए लगत्तै उक्त सीमाङकन मन नपरेको भन्दै देशका विभिन्न भागमा शुरु भएका आन्दोलनहरु रोकीएका छैनन् बरु दिन दिनै बढ्दै गएका जस्ता देखिएका छन्।

विरोध

विशेष कर्णाली स्वायत्त प्रदेशको माग गर्दै कर्णाली अञ्चलका ५ वटै जिल्लामा शुरु गरिएको बन्द र नाराबाजी सातौं दिन पनि जारी रहेको छ।

सुर्खेत, दैलेख र जाजरकोटमा अखण्ड मध्यपश्चिम र प्रदेशको राजधानी सुर्खेतमा हुनुपर्ने माग गर्दै गरिएको आन्दोलन पनि जारी रहेको छ।

अखण्ड रुकुमको माग गर्दै रुकुममा अनि अखण्ड राप्तिको माग गर्दै सल्यानमा गरिएका आन्दोलनहरु पनि जारी छ।

पश्चिम तराईका कन्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ र नवलपरासीमा थरुहट प्रदेशको माग गर्दै शुरु भएको आन्दोलन दिन दिनै बढ्दै गएको बताइएको छ।

पूर्वी तराई र पूर्वी पहाडका केही जिल्लामा पनि सीमाङकनको विरोध भइरहेको बताइएको छ।

राजमार्ग अवरुद्ध गर्दै मसाल जुलुस निकाल्ने र बन्दको प्रचार गर्दै हिंडेका ४८ जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कमल सिं बमले बताए।

उनले भने "नवलपरासीमा सभासदको घरमा ढुङगामुढा प्रहार गर्ने प्रयास भए पछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो, रुपन्देहीमा राजमार्गमा सवारी साधन तोडफोड गर्ने २४ जना र काठमाण्डूमा मसाल जुलुस निकाल्ने र बन्दप्रचार गर्ने ३४ जनालाई नियन्त्रणमा लिएका छौं।"

सीमाङकनको विरोध गर्दै आन्दोलन गर्ने सबैले बन्दलाई नै माध्यम बनाएको र लगातारको बन्दका कारण त्यस क्षेत्रमा दैनिक जीवन कष्टकर बनेको र अत्यावश्यकीय सामाग्रीको अभाव बढ्दै गएको बताइएको छ।