'रोगविरुद्ध लड्न लाज-संकोच बाधक'

  • 15 अगस्ट 2015
Image caption खासगरी ग्राणीम क्षेत्रका महिलाहरुमा पाठेघर खस्ने समस्या धेरै देखिने गरेको छ

सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएपनि ग्रामीण इलाकाका महिलामा पाठेघर खस्ने समस्या अझै जटिल रहेको पाइन्छ।

खासगरी अशिक्षा तथा लाजका कारण धेरै गाउँका महिला उक्त समस्याका बारेमा खुलेर भन्न नसकिरहेको चिकित्सकहरु बताउँछन्।

अधिकारीहरुका अनुसार खासगरेर तराईका ग्रामीण क्षेत्रमा त्यस्तो समस्या झन् जटिल छ।

स्वास्थ्यकर्मीहरुले केही दिन अघि झापाको भद्रपुर नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा त्यस्तै स्थिति स्थिति व्यहोर्नु पर्यो।

संकोच

राजवंशी समुदायकी एकजना महिलाले नर्सहरुलाई समेत जाँच गराउन मानिरहेकी थिइनन्।

त्यो दृश्य देखेर छक्क परेका मेची अञ्चल अस्पतालका स्त्री रोग विशेषज्ञ जयकुमार ठाकुर भन्छन्, “डर, लाज वा अशिक्षा केले हो महिला नर्सहरुलाई समेत देखाउन मानिरहेकी थिइनन्।”

एमनेस्टी इन्टरनेशनलले गत वर्ष सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नेपालमा करिब १० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको अनुमान गरिएको थियो।

तस्वीर कपीराइट bbc
Image caption एमनेस्टी भन्छ: २० देखि ४५ वर्षका महिलामा पाठघर खस्ने समस्या बढी छ

प्रतिवेदन अनुसार खासगरी आदिवासी, जनजाति, मुस्लिम तथा पिछडिएका समुदायका महिलाहरुमा यो समस्या देखिने गरेको छ।

कारण

स्वास्थ्य अधिकारीहरुका अनुसार कलिलो उमेरमा बिहे गरेर बच्चा जन्माउनु, धेरै बच्चा जन्माउनु, सुत्केरी भएको बेला कडा श्रम गर्नु, सुत्केरीले पर्याप्त पोषणयुक्त खानेकुरा नखानु जस्ता कारणले पाठेघर खस्ने समस्या हुन्छ।

स्वास्थ्य विभाग परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेल भन्छन्, “स्वास्थ्य संस्थामा नगएर घरमै सुत्केरी हुने तथा परिवार नियोजनका साधन प्रयोग नगर्ने जसका कारण गर्भान्तर कम हुनु पनि कारण हुन्।”

त्यो समस्या जटिल हुँदै गए क्यान्सर समेत हुन सक्ने चिकित्सकहरुको भनाई छ।

मेची अञ्चल अस्पतालका अनुसार, दुई तरिकाले पाठेघर खस्ने समस्याको उपचार गरिन्छ।

स्त्री रोग विशेषज्ञ जयकुमार ठाकुर भन्छन्, “पाठेघर पुरै झरेको छ वा निकै गाह्रो भइरहेको छ भने अप्रेसन गर्छौं तर अप्रेसन गर्न नपर्ने खालको छ भने प्लाष्टिकको चुरा राखिदिन्छौं।”

समस्याको बोझ

सरकारले पाठेघर खस्ने समस्याको निःशुल्क उपचारको व्यवस्था गरेको छ।

समस्या खासगरी ग्रामीण क्षेत्रका महिलाहरुमा धेरै पाइन्छ तर अप्रेसन सेवा ग्रामिण क्षेत्रमा छैन।

स्वास्थ्य विभाग परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक पोखरेल भन्छन्, “विशेषज्ञ डाक्टरले मात्र त्यो अप्रेसन गर्न सक्ने भएकाले ग्रामिण क्षेत्रहरुमा त्यो सुविधा दिन नसकिएको हो।”

नेपालमा २० देखि ४५ उमेर समूहका महिलामा पाठघर खस्ने समस्या बढी रहेको एमनेस्टीको अध्ययनले देखाएको छ।