पाकिस्तानमा प्रान्तीय मन्त्रीको हत्या

  • 16 अगस्ट 2015
Image caption एक पूर्व सैनिक अधिकृत शुजा खानजादालाई ज्यानको धम्की आउने गरेको बताइएको छ

पाकिस्तानमा भएको आत्मघाती विष्फोटनमा परी एक प्रान्तीय गृह मन्त्रीका अतिरिक्त कम्तीमा अन्य १२ जनाको ज्यान गएको छ।

पञ्जाब प्रान्तका गृहमन्त्री शुजा खानजादा त्यहाँको अटोक जिल्लामा आफ्ना समर्थकहरुलाई भेट्दै गर्दा उक्त बम हमला भएको थियो।

कमान

शुजा खानजादा विद्रोहीहरुको हमलामा यस वर्ष मारिएका सबभन्दा वरिष्ठ पाकिस्तानी राजनीतिक नेता हुन्।

एक अवकाशप्राप्त सैनिक अधिकृत खानजादाले पाकिस्तानको सबभन्दा ठूलो प्रान्तमा प्रति आतंकवाद कारवाहीको कमान सम्हालेका थिए।

अल कायदासंग सम्बन्ध रहेको एक सुन्नी विद्रोही समूह लश्कर ए जांग्वीले उनको हत्याको आदेश दिएको बताएको छ।

प्रहरीले हालैका दिनहरुमा आफ्ना एक मुख्य नेता मारेको बदला स्वरुप उक्त आदेश दिएको उसको भनाई छ।

उक्त समूह केही वर्ष यताका सबभन्दा हिंसात्मक हमलामा सरिक छ।

यसलाई सन् २००१ मा पाकिस्तानले प्रतिबन्ध लगाएको थियो भने अमेरिकाले सन् २००३ मा यसलाई आतंकवादी समूहमा सुचीकृत गर्यो।

यसले पाकिस्तानमा सयौं खासगरी शिया मुसलमानहरुको हत्यामा जिम्मेवारी स्वीकारेको छ।

धक्का

पछिल्ला समयमा पाकिस्तानले विद्रोही तथा अतिवादविरुद्ध पाएका सफलतामा आइतबारको घटनाले धक्का पुर्याएको ठानिएको छ।

विष्फोटको घटना राजधानी इस्लामावादबाट ८० किलोमिटर उत्तर पश्चिममा अवस्थित इलाकामा भएको थियो।

घटनाको बेला खानजादा आफ्नो गृहनगर अटोकमा समर्थकहरुसंग भेटघाट गर्दै थिए।

विष्फोट यति शक्तिशाली थियो कि त्यसले भवनको छानानै खस्यो र दर्जनौं त्यसमा फस्न पुगे।

उनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री नवाज शरीफले उनको साहस र वीरताले आतंकवादीका नाइकेहरुलाई तिनीहरु परास्त भइछाड्ने सन्देश दिएको जनाएका छन्।