बन्द र विरोधका कारण जनजीवन प्रभावित

  • 16 अगस्ट 2015
Image caption सीमांकन लगत्तै सुर्खेतबाट शुरु भएका प्रदर्शनहरु अहिले पश्चिम नेपालका ठाउँठाउँमा फैलिएका छन्

दलहरुले गरेको प्रदेशको सीमाङकन प्रति असन्तुष्टी जनाउँदै देशका विभिन्न भागहरुमा विभिन्न पक्षद्वारा गरिंदै आएको बन्दमा बैद्य नेतृत्वको माओवादी र मधेसी मोर्चासहितका दलहरुले गरेको बन्द थपिदा आइतबार देशभर जनजीवन प्रभावित भएको छ।

विशेष स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आठ दिन देखी बन्द रहेको जुम्लामा प्रर्दशनकारी र प्रहरीबीच झडप भए पछि कर्फ्यु लगाइएको छ।

बन्दका क्रममा देशका विभिन्न भागमा १६ वटा सवारी साधन तोडफोड भएको र बन्द गराउँदै हिंड्ने सय जना भन्दा बढी पक्राउ परेको प्रहरीले जनाएको छ।

झडप

संघीय प्रदेशको सीमाङकन सँगै त्यसप्रति असन्तुष्टी व्यक्त गर्दै देशका विभिन्न भागहरुमा करिव एक साता देखि बन्द र प्रर्दशनहरु भैरहेका छन्।

विशेष कर्णाली स्वायत्त प्रदेश हुनु पर्ने माग गर्दै एक हप्ता सम्म पहिलो चरणको आन्दोलन भएको जुम्लामा आइतबार दोस्रो चरणको भनिएको आन्दोलनको शुरुकै दिन प्रहरी र प्रर्दशनकारी बीच झडप भएको छ।

स्थानिय सरकार आफै संचालन गर्ने भन्दै प्रर्दशनकारीहरुले सरकारी कार्यालयमा भएका साइनबोर्ड निकाल्न थालेपछि झडप भएको बताइएको छ।

त्यस क्रममा सात जना घाइते भएको र उनीहरुलाई प्रहरीको गोली लागेको आन्दोलनरत दलहरुले बताएका छन्।

घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुलाई थप उपचारका लागि अन्यत्र लग्नु पर्ने बताइएको छ।

प्रहरीले भने आन्दोलनकारीहरुले सरकारी कार्यालयहरुलाई निसाना बनाउन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन रवरको गोली चलाइएको बताएको छ।

बन्दै बन्द

बन्दै बन्दका बीचमा बैद्य नेतृत्वको माओवादी र मधेसी मोर्चासहितका दलहरुले गरेको आइतबारको नेपाल बन्द सामान्यत: शान्तिपूर्ण नै रह्यो।

सडकमा लामो र छोटो दुरीका सवारी साधन संचालन भएनन् भने साना सवारी साधन छिटफुट चलेका थिए।

बन्दका क्रममा १६ वटा सवारी साधन तोडफोड भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कमल सिंह वमले बताए।

उनले भने "बन्दको क्रममा काठमाडौंबाट ९८ जना, ललितपुरबाट ८ जना, कास्कीबाट ३ जना, मोरङबाट ३ जना, मकवानपुरबाट ४ जना र झापाबाट १ जना गरि १ सय १७ जना प्रहरीको नियन्त्रणमा छन्। अन्यत्र बन्दको क्रममा बल प्रयोग गर्नु पर्ने अवस्था आएन, शान्तिपूर्ण नै रह्यो।"

आफुहरुले शान्तिपूर्ण रुपमा गरेको बन्दमा प्रहरीले हस्तक्षेप गरेर आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको भन्दै बन्द आयोजक मोर्चाले उनीहरुको रिहाइको माग गरेको छ।

मोर्चाका नेता एवं संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने "शान्तिपूर्ण प्रदर्शन गरिरहेको अवस्थामा उहाँहरुलाई गिरफ्तार गरेर लगिएको छ। लोकतन्त्रमा यसरी दमन गर्ने कार्य भर्त्सना योग्य छ।"

संविधान निर्माणका क्रममा देखिएका विवादका विषय र सीमाङकन बारे उत्पन्न विरोधहरुलाई सम्बोधन गर्ने गरी चार दलका शीर्ष नेताहरु रहेको विशेष समिति आइतबार पनि कुनै ठोस निर्णयमा पुग्न नसकेको बताइएको छ।

मस्यौदालाई अन्तिम रुप दिन भनेर बनाइएको मस्यौदा समिति अन्तर्गतको कार्यदलको काम पनि प्रभावित भएको छ।