अझै हार मानेको छैन: राजपक्ष

  • 18 अगस्ट 2015
तस्वीर कपीराइट Reuters
Image caption गत जनवरी महिनामा राजपक्ष राष्ट्रपतिको चुनावमा परास्त भएका थिए

श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपक्षले सोमवार भएको संसदको चुनावमा आफूले हार स्वीकार नगरेको जनाएका छन्।

यसअघि कोलम्बोबाट समाचार संस्था एएफपीले आफूसँगको कुराकानीमा राजपक्षले 'आगामी प्रधानमन्त्री बन्ने मेरो सपना धमिलो बन्न पुगेको' बताएको उल्लेख गरेको थियो।

राजपक्षले आधिकारिक ट्विटर अकाउण्ट मार्फत दिएको सन्देशमा 'जित स्वीकार्न वा हार मान्न' राजपक्षलाई अझै आधिकारिक परिणाम प्राप्त नभएको उल्लेख छ।

तर एएफपीका ब्युरो प्रमुख अमल जयसिंघेले बीबीसीसँग कुरा गर्दै आफ्नो समाचारप्रति दृढ रहेको बताउँदै आफूसँग टेलिफोनमा भएको कुराकानीमा राजपक्षले हार स्वीकारेको तर केही मिनेटपछि फेरि फोन गरेर उक्त समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको बताए।

बाँकी

समाचार प्रकाशित भइसकेको कुरा आफूले राजपक्षलाई त्यहीबेला बताएको उनको भनाई छ।

आम चुनावको अन्तिम नतिजा आधिकारिक रुपमा घोषणा हुन बाँकी छ।

दुई अवधि कार्यकारी राष्ट्रपतिको भूमिका निर्वाह गरिसकेपछि अर्को पटक पनि शक्तिमा आउन खोज्दा उनले गत जनवरी महिनाको चुनावमा मैत्रिपाला सिरिसेनासँग 'आश्चर्यजनक' रुपमा पराजय व्यहोर्नु परेको थियो।

राष्ट्रप्रमुख हुँदा कहिल्यै बीबीसीसँग कुरा नगरेका राजपक्षले चुनावको एक दिनअघि बीबीसी सिंहालासँगको कुराकानीमा २२५ संसदीय क्षेत्रमध्ये ११७ मा जित्ने बताएका थिए।

उनको प्रतिद्वन्द्वी दल युनाईटेड नेसनल पार्टी (युएनपी) को नेतृत्व प्रधानमन्त्री रनिल विक्रमसिंघेले गरेका छन्।

राष्ट्रपति सिरिसेनाले पार्टीमा आफ्नो पकड केन्द्रिकृत गर्न श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) को केन्द्रिय समितिबाट ११ जनलाई हटाएका छन्।