श्रीलंकामा संसदीय निर्वाचन सम्पन्न

  • 17 अगस्ट 2015
तस्वीर कपीराइट AFP
Image caption महिन्द राजपक्ष अझै पनि आफूलाई कुनै लडाकु राजाको रुपमा प्रस्तुत गर्ने गर्छन्

श्रीलंकामा भएको संसदीय निर्वाचनमा मतदान समाप्त भएको छ र मतदाताको उपस्थिति उल्लेख्य रहेको बताइएको छ।

यो निर्वाचनलाई विवादमा पर्दै आएका भूतपूर्व राष्ट्रपति महिन्द राजपक्षका सम्बन्धमा जनमत संग्रहकै रुपमा लिइएको छ।

गत जेनुअरीमा भएका निर्वाचनमा उनलाई उनकै भूतपूर्व निकट सहकर्मी मैत्रीपाल सिरिसेनाले अप्रत्याशित रुपमा पराजित गरिदिएका थिए।

प्रतिवद्धता

महिन्द राजपक्षले यो निर्वाचनमा विजयी भएर प्रधानमन्त्री बन्ने चाहना देखाएका छन् तर राष्ट्रपति सिरिसेनाले त्यसो हुन नदिने प्रतिवद्धता जनाएका छन्।

राजपक्ष खासगरी ग्रामीण भेगमा रहेका बहुसंख्यक सिंहालाहरु माझ एकदमै लोकप्रिय पनि रहेका छन्।

तिनीहरु ६ बर्ष अघि तमिल पृथकतावादीहरुलाई दशकौंसम्म चलेको युद्धमा हराएको भनि उनलाई सम्मान गर्ने गर्छन्।

अब तिनीहरु उनलाई प्रधानमन्त्रीका रुपमा हेर्न चाहन्छन्।

आरोप

तर ग्रामीण सिंहाली पृष्ठभूमिकै राष्ट्रपति सिरिसेनाले भने राजपक्षलाई देशका तामिल तथा मुसलमान अल्पसंख्यकहरु विरुद्ध जातीय विभेदको अभियान संचालन गरेको खुल्ला आरोप लगाएका छन्।

उनी भन्छन्- यदि निर्वाचनमा राजपक्षले जीते नै भने पनि उनलाई आफूले प्रधानमन्त्री बन्नबाट रोकिदिने छन्।

मैत्रीपाल सिरिसेनाको सात महिने कार्यकालमा देशमा मानवअधिकारको अवस्थामा विस्तारै सुधार हुंदै गएको बताइन्छ।

तर यस विषयमा तामिलहरुको धारणा भने फरक फरक छ।

कोही उनलाई समर्थन गर्दछन् भने कोही देशमा पूर्णरुपमा संघीय अधिकार प्रत्यायोजन नभइकन श्रीलंकामा वास्तविक परिवर्तन हुन नसक्ने ठान्दछन्।

तर त्यस्तो अधिकार बांडफांडको कुरा भने हाल राष्ट्रिय चर्चामा छैन।