संविधानको मस्यौदा बुझाउने तिथि अन्योलमा

  • 18 अगस्ट 2015
जुम्ला
Image caption प्रदेशहरुको प्रस्तावित सीमाङ्कनको विरोधमा देशका विभिन्न ठाउँमा बन्द र विरोध जारी छन्

संविधानसभाले दिएको पाँच दिनको समयसीमाभित्र प्रतिवेदन तयार पार्न नसकेको संविधान मस्यौदा समितिले शीर्षस्थ नेता सम्मिलित विशेष समितिले विवादित विषयमा सहमति नगर्दा मस्यौदा बुझाउने तिथि अन्योलमा परेको जनाएको छ।

संविधानको विधेयक परिमार्जनको धेरै काम आफूहरुले सकिसक्दा पनि विवादित बिषयमा सहमति कायम गर्ने जिम्मा पाएको बिशेष समितिबाट कहिलेसम्म बाँकी बिषयहरु टुङगो लाग्छ भन्ने बारेमा स्पष्ट जवाफ नआएको मस्यौदा समितिको भनाई छ।

संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले जनताको राय समेतलाई समेटेर बनाएको प्रतिवेदनलाई पाँच दिनभित्र मस्यौदा विधेयकका रुपमा तयार पार्ने जिम्मा संविधानसभाको मस्यौदा समितिलाई दिएको थियो।

जिम्मेवारी

तर सहमति जुटन बाँकी रहेका विषयलाई टुङगो लगाउने जिम्मेवारी पाएको शिर्ष नेता सम्मिलित विशेष समितिमा सहमति जुटन नसक्दा तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकिएको मस्यौदा समितिले जनाएको छ।

तोकिएको समय गुज्रिए पछि पनि अब कहिलेसम्म मस्यौदा विधेयक संविधानसभामा बुझाउने भन्ने समेत अन्यौल भएको समितिका सदस्य रमेश लेखकले बताए।

उनले भने, "विशेष समितिले टुङगो लगायो भने स्थिति सहजतापूर्वक अघि बढ्छ, तर त्यो समितिले टुङगो लगाउन सकेन भने कहिले, कति दिनमा मस्यौदा विधेयक संविधानसभामा पेस हुन्छ भन्ने अन्यौल रहन्छ।"

शिर्ष नेताहरुकाबीचमा सहमति हुन्छ र कार्यदलले प्रतिवेदन तयार पारि सक्छ भन्ने आधारमा बुधवार मस्यौदा समितिको पूर्ण बैठक बोलाइएको बताइएको छ।

'आग्रह'

शिर्ष नेता सम्मिलित विशेष समितिलाई समेत त्यसरी नै काम गरिदिन आफूहरुले आग्रह गरेको मस्यौदा समितिका सदस्य अइन्द्र सुन्दर नेम्वाङले बताए।

उनले भने, "समय त सकियो तर अबको दुई दिनमा काम सक्नु पर्ला भनेर समितिको बैठक बोलाएका छौं, त्यही हिसाबले दबाबमूलक ढंगले हाम्रो सभापति मार्फत शिर्ष नेताहरुलाई सुझाव दिएका छौं।”

मस्यौदा विधेयक लेखनको काम धेरै सकिएको बताएको समितिले धर्म निरपेक्षता, थ्रेसहोल्ड, पुनर्नियुक्ति लगायतका बिषयमा सहमति गर्न शीर्ष नेतालाई आग्रह गरेको छ।

त्यस्तै प्रदेशको सीमाङ्कनमा देखिएको पछिल्लो विवाद र भइरहेका विरोधहरुलाई पनि संवोधन गर्नु पर्नेमा समितिले बिशेष समितिको ध्यानाकर्षण गराउँदै आएको छ।