इयुमा अवैधानिक आप्रवासीको उच्च संख्या

  • 19 अगस्ट 2015
तस्वीर कपीराइट EPA
Image caption युरोपियन युनियन प्रवेश गर्ने अबैधानिक आप्रवासीको संख्या पछिल्ला महिनामा तीब्र भएको छ

अवैधानिक रुपमा युरोपियन युनियन भित्रिने आप्रवासीहरुको संख्या गत जुलाई महिनामा अहिलेसम्मकै सबभन्दा धेरै: एक लाख सात हजार पुगेको छ।

यो गत जुन महिनाको भन्दा चालीस हजारले बढता छ।

इयु बोर्डर कन्ट्रोल एजेन्सी फ्रन्टेक्सले त्यसलाई संकटकाल भन्दै सबै इयु सदस्य राष्ट्रहरुले आप्रवासी शुरुमा आइपुग्ने तीनवटा मुख्य देशहरु ग्रीस, हंगेरी र इटलीलाई सहयोग गर्न भनेको छ।

जर्मनीमा शरण माग्नेहरुको संख्या पनि ह्वात्तै बढेको अधिकारीहरुले बताएका छन्।

लहर

जर्मनीमा सिरिया र बाल्कन्सबाट आउने आप्रवासीहरुको लहर फैलिएको छ।

जर्मनीले भनेको छ यो वर्ष शरण माग्न सात लाख पचास हजार जति आउन सक्छन्।

पछिल्ला महिनाहरुमा इयुले आप्रवासी आगमनको समस्यासँग संघर्ष गरिरहेको छ।

फ्रान्स र ब्रिटेनले फ्रान्सको कालेयमा यो समस्यासँग जुझ्न बिहिबार एउटा सहमतिमा हस्ताक्षर गर्ने बताएका छन्।

यो ग्रीष्मकालमा उत्तरी फ्रान्सबाट हजारौं आप्रवासीले ब्रिटेन छिर्ने प्रयत्न गरेका थिए।

नयाँ सहमति

फ्रान्सका आन्तरिक मन्त्री बेर्नार्ड क्यास्ज्नुभ र उनकी ब्रिटिश समकक्षी थेरेसा मेले सुरक्षा सुदृढिकरण र मानव तस्करसँग जुझ्न आपसी सहयोगका लागि विहिबार नयाँ सहमति गर्ने भएका छन्।

अगष्टको शुरुमा ब्रिटेनले फ्रान्सलाई च्यानल टनलको फ्रान्सतिरको पर्खाल बलियो बनाउन सत्तरी लाख पाउण्ड सहयोग दिएको थियो।

संयुक्त राष्ट्र संघीय शरणार्थी आयुक्त एन्टोनियो ग्युटेरेसले भने युरोपका अरु देशहरुले पनि बोझ बेहोर्नुपर्छ।