ग्रीक प्रधानमन्त्री सिप्रासद्वारा राजीनामा

  • 21 अगस्ट 2015
तस्वीर कपीराइट Reuters
Image caption गत जनवरीमा निर्वाचित प्रधानमन्त्री एलेक्सिस त्सीप्रासले राष्ट्रपतिलाई भेटेर राजीनामा दिएको बताइएको छ

ग्रीक प्रधानमन्त्री एलेक्सिस सिप्रासले आफ्नो पदबाट राजीनामा दिंदै मध्यावधि निर्वाचन गराउने घोषणा गरेका छन्।

गत जनवरीमा निर्वाचित भएका सिप्रासले युरोपेली ऋणदाताहरुसँग तेस्रो सम्झौता सुनिश्चित भईसक्दा मतदान गराउनु आफ्नो नैतिक कर्तव्य भएको बताए।

निर्वाचको तिथि तोक्न बाँकी छ।

यद्यपि सेप्टेम्बर २० तारिखमा निर्वाचन हुन सक्ने अपेक्षा गरिएको छ।

नेतृत्व

निर्वाचनमा एलेक्सी सिप्रासले आफ्नो वामपन्थी दल सिरिजा पार्टीको नेतृत्व गर्नेछन्।

तर ऋणदाताहरुसँगको सम्झौतामा मितव्ययीता अपनाएकोमा रुष्ट बनेका आफ्नै पार्टीका सांसदहरुबाट उनले विद्रोहको सामना गर्नुपर्यो।

ग्रीसलाई युरोमुद्रा प्रचलनमा रहेको युरोजोनभित्र राखिराख्न र ऋण पाउनका निम्ति सिप्रासले सरकारी क्षेत्रमा पीडादायी कटौती गर्न र दीर्घकालीन असर पार्ने निवृत्तिभरणमा सुधार गर्नुपर्ने विषयमा सहमति जनाउनु परेको थियो।

युरोपियन संसदले अनुमोदन गरेपछि ग्रीसले पहिलो किस्ताको रुपमा बिहिबार १३ अर्ब युरो प्राप्त गरेको छ।

उक्त रकम प्राप्त गरेको ग्रीसले अब युरोपेली केन्द्रीय बैंकलाई ३ अर्ब २० करोड युरो ऋण तिर्नेछ।

इमानदार

र, यससँगै ऋण तिर्न विफल हुनबाट ग्रीस जोगिनेछ।

युरोपियन मुलुकहरुसँग भएको सम्झौता अनुसार ग्रीसले आगामी तीन वर्षभित्र ८६ अर्ब युरो ऋण प्राप्त गर्नेछ।

टेलिभिजनमार्फत राष्ट्रको नाममा संबोधन गर्दै सिप्रासले आफ्नो राजीनामा र निर्वाचनसम्बन्धी घोषणा गरेका थिए।

उनले भने, “जनवरी २५ तारिखको निर्वाचनले आफ्नो राजनीतिक म्यान्डेटका सीमाहरु पूरा गरेको छ र ग्रीक जनताले अब आफ्नो धारणा राख्नुपर्ने हुन्छ, म तपाईंहरुसँग इमानदार हुन चाहन्छु, जनवरीअघि हामीले अपेक्षा गरेअनुसार सहमति गर्न सकेनौँ।”

त्सीप्रासले आफ्नो सरकारका कार्यक्रमहरुलाई निरन्तरता दिनका निम्ति ग्रीक जनताहरुको अनुमोदन खोज्ने बताए।