तीव्र-रेलमा हतियारधारीसँग भिडे निशस्त्र यात्रु

  • 22 अगस्ट 2015
तस्वीर कपीराइट Reuters
Image caption अमेरिकी निशस्त्र सैनिकले दुखद घट्ना टारेको भन्दै उनीहरुको प्रशंसा भएको छ

फ्राँन्समा तीव्र गतिको रेलमा भारीमात्रामा हातहतियारले सुसच्जित एक व्यक्तिलाई दुईजना निशस्त्र अमेरिकी सैनिक सहितका यात्रुहरुले परास्त गरेका छन्।

नेदरल्याण्डसको आमस्टर्डमबाट फ्राँन्सको पेरिसतर्फ गइरहेको रेलमा स्वचालित पेस्तोल, मेसिन गन र चक्कु बोकेका हतियारधारीलाई ती यात्रुले आफ्नो अधीनमा लिएका थिए।

तीनजना अमेरिकी मध्ये दुईजना विदामा रहेका हुनसक्ने अमेरिकी जलसैनिक भएको बताइएको छ।

फ्राँन्सका सञ्चारमाध्यमहरुका अनुसार उनीहरु शंकास्पद व्यक्तिले शौचालयमा हतियार ‘लोड’ गरेको सुनेपछि उ बाहिर निस्किने बित्तिकै उसँग भिडेका थिए।

अनुसन्धान

रेल फ्रान्सको उत्तरपूर्वी भागस्थित यारस स्टेसन पुगेपछि मोरक्कन मूलका ती २६ वर्षिय युवालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।

घट्नामा तीनजना घाइते छन्, गोली र चक्कु लागेका दुईजनाको अवस्था गम्भीर छ।

हतियारधारीको उदेश्य खुलिसकेको छैन।

फ्राँन्सका अधिकारीहरुका अनुसार प्रतिआतंकवाद अधिकारीद्वारा घट्नाको अनुसन्धान भइरहेको छ।

रेलमा ५५४ जना यात्रु सवार थिए।

स्थिति नियन्त्रणमा र यात्रुहरु सुरक्षित रहेको जनाउँदै अधिकारीहरुले रेलहरु रोकिएको र आतपकालीन सेवाहरु तयारी अवस्थामा राखिएको बताएका छन्।

वीरता

तस्वीर कपीराइट non
Image caption घट्नापछि स्थिति नियन्त्रणमा रहेको अधिकारीहरुले जनाएका छन्

बेल्जियमका प्रधानमन्त्रीले घट्नालाई आतंकवादी हमलाको संज्ञा दिएका छन्।

घट्नास्थल पुगेका फ्राँन्सका गृहमन्त्री बेरनार काजनुभले भने, “म राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट असाध्यै कठिन समयमा बहादुरी देखाएका यात्रुप्रति सम्मान व्यक्त गर्न चाहन्छु, त्यहाँ उनीहरु नभएको भए ठूलो दुखान्त हुने निश्चित थियो।”

अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि आफ्नो देशका नागरिकको कामको प्रशंसा गरेका छन्।

एउटा वक्तव्य मार्फत राष्ट्रपति ओबामाले उनीहरुको ‘साहसिक काम र छिटो गरिएको निर्णयको प्रशंसा’ गरेका हुन्।

उनले भने, “उनीहरुको वीरतापूर्ण कदमले निकै ठूलो दुखद घट्ना रोकेको हुनसक्छ।”