पाइपलाइन संझौतापछि 'पेट्रोलियम अभाव हुन्न'

  • 22 अगस्ट 2015
तस्वीर कपीराइट noc
Image caption नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइनबारे सोमबार संझौता हुने तय भएको छ

नेपाल र भारतबीच आगामी सोमबार गर्ने तय भएको सम्झौता लगत्तै पेट्रोलियम पाइपलाइन निर्माण कार्य शुरु हुने अधिकारीहरुले बताएका छन्।

पाइपलाइन निर्माणपछि पेट्रोलियम पदार्थको अभाव हट्ने र हालको चुहावट अन्त्य हुने अधिकारीहरुले बताएका छन्।

भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाईन मार्फत पेट्रोलियम पदार्थ आउन थाले पछि बजार मूल्य पनि घट्ने बताइएको छ।

सम्झौता भएको ३० महिनाभित्र निर्माण कार्य सक्ने लक्ष्य लिइएको उक्त पाइपलाइन दुई देशको संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो।

साकार

नेपालसम्म पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ ल्याउने गरि सन् १९९५ देखि शुरु भएको दुईपक्षीय छलफलले २० वर्ष पछि साकार रुप लिने भएको बताइएको छ।

४१ किलोमिटर पाइपलाइन बनेपछि ढुवानीका लागि नेपाल आयल निगमले तिर्नुपर्ने मासिक साढे तीन करोड रुपैँया बराबरको रकम बच्ने र त्यसले पेट्रोलियम पदार्थको बजार मूल्य घटाउन सघाउ पुर्याउने ठानिएको छ।

निगमका निर्देशक मुकुन्द घिमिरेले भने- "बन्दको बेला पनि पाइपलाईनबाट सहज रुपमा आउँछ र त्यो तेल हामीले सहजै ठाँउ ठाँउ पुर्याउन सक्छौं । जब हाम्रो लागत मूल्य घटदै जान्छ त्यसरी नै उपभोक्तालाई उपलब्ध गराउने बिक्रि मूल्य घटदै जान्छ।"

भारतले दुई अर्ब र नेपालले ७५ करोड भारतिय रुपैयाँ लगानी गर्ने उक्त पाइपलाईन निर्माणपछि प्रति घण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ नेपाल आउने बताइएको छ।

साथै पेट्रोलियम पदार्थ लिनका लागि भारतसँग प्रत्येक पाँच वर्षमा सम्झौता नविकरण गरिने बताइएको छ।

भण्डारण

पाइपलाईनको निर्माण सम्झौता संगै अमलेखगञ्जका रहेको भण्डारको क्षमता बृद्धिको काम शुरु गरिने निर्देशक घिमिरेले बताए।

उनले भने "तत्कालका लागि डिजेलको भण्डारण क्षमता पुग्छ तर पेट्रोल र हवाई ईन्धनको भण्डारण बढाउनका आवश्यक जग्गाका विषयमा प्रक्रिया अघि बढाउँछौं।"

उक्त पाइपलाईन निर्माणको केही वर्षमा रक्सौलमा रहेको भारतीय डिपो भारतकै मोतिहारिमा सर्ने र त्यहाँ सम्म पनि पाइप लाईन निर्माण गरिदिन भारतिय पक्ष तयार रहेको निगमको भनाई छ।

त्यसबाट तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ खरिद गर्न सक्ने बाटो पनि खुल्ने बताइएको छ।