हिंसामा 'आठ'को मृत्यु, सेना परिचालित

  • 24 अगस्ट 2015
तस्वीर कपीराइट ramesh bajagain
Image caption हिंसामा घाईते भएकाहरुलाई टिकापुरको अस्पतालमा उपचारका लागि पुर्याइएको थियो

कैलालीको टिकापुरमा भएको हिंसामा आठ जनाको ज्यान गएपछि सुरक्षा समितिको आकस्मिक बैठकपछि उक्त क्षेत्रमा सेना परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ।

गृहमन्त्री बामदेव गौतमले संसदलाई घटनाबारे जानकारी गराउँदै नेपाल प्रहरीका ५ जना र सशस्त्रतर्फ अन्य केहीको ज्यान गएको बताए।

मारिनेमा वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपाने पनि छन्।

वरिष्ठ प्रहरी उपरिक्षक न्यौपानेसहित नेपाल प्रहरीका तर्फबाट पाँचजना र सशस्त्रका तर्फबाट दुईजनाको ज्यान गएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए।

नियन्त्रणमा

एकजना दुई वर्षे बालकको पनि उक्त घटनामा गोली लागि ज्यान गएको उनले बताए।

दिउँसो अत्यन्त तनावग्रस्त रहेको उक्त क्षेत्रमा अहिले आन्दोलनकारीहरु तितरवितर भइसकेकोले स्थिति नियन्त्रणमा रहेको श्रेष्ठले जानकारी दिए।

घटनापछि संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशिल कोइरालाले यो घटनाले आफूलाई अत्यन्तै दुःख लागेको भन्दै धेरै बोल्ने पक्षमा नभएको बताए।

गृहमन्त्री गौतमले रौतहटको गौर र सर्लाहीको मलंगवामा पनि स्थिति अत्यन्त तनावग्रस्त रहेको जनाए।

हमला

उनले सबैतिरको स्थितिलाई मध्यनजर गर्दै सुरक्षा समितिको बैठकले समस्या देखिएका स्थानलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी प्रमुख जिल्ला अधिकारीहरूलाई सेना परिचालनको आदेश दिइएको बताए।

अहिलेसम्म कैलालीको टिकापुरमा मात्रै सेना परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए।

उनले घटनाको प्रकृति हेर्दा त्यो योजनावद्ध भएको उल्लेख गरे।

आक्रमणकारीहरूले भाला, खुकुरी, बञ्चरो, हँसिया लगायतका घरेलु हतियार लिएर निर्ममतापूर्वक हमला गरेको जनाए।