संसदद्वारा सद्भावका लागि आह्वान

  • 24 अगस्ट 2015
तस्वीर कपीराइट prabhat kumar jha
Image caption रौतहटमा पनि घरेलु हतियारसहित मानिसहरुले प्रदर्शन गरेका थिए

प्रदेश सीमाङ्कनको विरोधमा कैलालीको टिकापुरमा सोमबार भएको हिंसामा आठ जना मारिएको घटनाको निन्दा गर्दै व्यस्थापिका संसदले सबै पक्षलाई एकता र सद्भाव प्रदर्शन गर्न आह्वान गरेको छ।

सभामुख सुवास नेम्वाङले सोमबार साँझ बसेको संसदको बैठकमा प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरिएको थियो।

टिकापुरमा भएको तनावपछि सरकारले तराईका कतिपय जिल्लामा दंगा फैलिन सक्ने ‍खतरा रहेको भन्दै शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनलाई सेना परिचालन गर्न अधिकार दिने निर्णय गरेको छ।

प्रमुख दलहरुले सीमाङ्कनबारे गरेका सहमतिको विरोधमा भइरहेका प्रदर्शनको हालसम्मकै उग्र रुप सोमबार टिकापुरमा देखिएलपछि सोमबार साँझ बसेको संसदको बैठकले त्यसको निन्दा गरेको हो।

हिंसात्मक

उक्त घटनाले संसदलाई स्तब्ध तुल्याएको भन्दै सभामुख नेम्वाङले संविधान निर्माण पुरा हुने चरणमा व्यक्त भइरहेका असन्तुष्टि हिंसात्मक रुपमा अभिव्यक्त हुन नहुनेमा जोड दिए।

सबै पक्षलाई धैर्य धारण गर्न अनुरोध गर्दै उनले भने, "व्यवस्थापिका संसदको यो बैठक सबै नेपाली दिदीबहिनी, दाजुभाइ, नागरिक समाज, राजनीतिक दललाई सामाजिक एकता, सद्भाव र शान्तिका लागि क्रियाशील हुन हार्दिक अपिल गर्दछ।"

त्यसअघि टिकापुरमा भएको घटनाबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री बामदेव गौतमले जातीय विद्वेष फैलाउने उद्देश्यले योजनावद्ध रुपमा चारैतिरबाट घेरा हालेर सुरक्षाकर्मीमाथि आक्रमण गरिएको बताएका थिए।

उनले तराईका अन्य कतिपय जिल्लामा पनि त्यस्ता गतिविधि हुन सक्ने सूचना आएको भन्दै त्यस्ता सम्भावित क्षेत्रमा सुरक्षा कायम गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको जनाए।

उनले भने, "सुरक्षा समितिको बैठकले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई स्थानीय प्रशासन ऐन अन्तर्गत यस्तो हुन लागिरहेको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै नेपाली सेना परिचालन गर्न आदेश दिएको छ, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि यस्तो गर्नु वाध्यता हो।”

तोडफोड

टिकापुरको हिंसामा थरूहट समर्थक आन्दोलनकारीहरू र प्रहरीबीचको झडपमा कम्तीमा आठजनाको ज्यान गएको प्रशासनले पुष्टि गरेको छ।

हिंसामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित पाँचजना नेपाल प्रहरी, दुईजना सशस्त्र प्रहरी तथा एक दुई वर्षीय बालकको ज्यान गएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए।

करीब ३/४ घन्टा भएको दोहोरो झडपमा जनपद प्रहरीका तर्फबाट १७ जना र सशस्त्र प्रहरीतर्फबाट २१ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।

कैलालीमा मात्रै नभई सर्लाही र रौतहटमा पनि सीमाङ्कनको विरोधमा प्रदर्शनहरु हुँदा स्थिति तनावग्रस्त भएको बताइएको छ।

रौतहटका सरकारी कार्यालयहरुमा तोडफोड गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको अधिकारीहरुले जनाएका छन्।

त्यस्तै अर्को तनावग्रस्त जिल्ला सर्लाहीको मलंगवामा घरेलु हतियारसहित प्रदर्शन गरिएको थियो।

दंगाग्रस्त

गृहमन्त्रीले सर्लाही र रौतहटमा ‘दक्षिण’बाट धेरै मानिसहरु सरकारी कार्यलयहरु आक्रमण गर्ने तयारीका साथ सदरमुकामतर्फ आइरहेको सूचना प्राप्त भएको र ती स्थानलाई पनि दंगाग्रस्त क्षेत्र घोषणा गर्ने तयारी भएको संकेत गरेका थिए।

तर उनले दक्षिण भनेर कसलाई इंगित गर्न खोजेको हो त्यो भने खुलाएनन्।

तर सोमबार साँझसम्म कैलालीको टिकापुरमा मात्र सेना परिचालन भएको सैनिक प्रवक्ता जगदीशचन्द्र पोख्रेलले बीबीसीलाई बताए।

उनले भने, “टिकापुरमा चाहिँ दंगाग्रस्त क्षेत्र घोषणा गरेर त्यहाँ सेना परिचालन भइसकेको छ, अन्य जिल्लामा सेना परिचालन हुनसक्ने अवस्था चाहिँ अहिलेसम्म आएको छैन।”

सात प्रदेशको सीमांकनसहित तयार पारिएको संविधानको परिमार्जित विधेयकमाथि संविधानसभाले छलफलको तयारी थाल्दा पछिल्लो घटना भएको हो।

संविधान लेखन अन्तिम चरणमा रहेको भनिएको बेला भएको हिंसात्मक विरोधले भावी संविधानसँगै आइपर्न सक्ने चुनौतीहरुलाई सतहमा ल्याएको ठानिएको छ।