शेयरहरुको भाउमा भारी गिरावट

  • 25 अगस्ट 2015
शेयर बजार तस्वीर कपीराइट XINHUA
Image caption चिनियाँ अर्थतन्त्रमा सुस्तता देखिएपछि शेयर बजारहरुमा त्यसको प्रत्यक्ष असर परेको छ।

चिनियाँ अर्थतन्त्रमा देखिएको सुस्तताप्रति लगानीकर्ताहरुको चिन्ता बढ्दै जाँदा युरोपभरिका शेयर बजारहरुमा शेयरको भाउमा ठूलो गिरावट आएको छ।

यसअघि शांघाइस्थित धितोपत्र बजारमा शेयरसूचकांक आठ दशमलव पांच प्रतिशतले झरेपछि कारोबार बन्द गरिएको थियो।

झण्डै दुई महिना अघिको तुलनामा शाङ्घाइको बजारले उसको मूल्य एकतिहाइ भन्दा बढीले गुमाइ सकेको छ।

आज दिउँसोसम्ममा लण्डन, पेरिस र फ्र्याँकफर्टका मुख्य शेयर सूचकांकहरु तीन देखि पाँच प्रतिशतसम्मले झरेका थिए।

चिनियाँ धितोपत्र बजारहरुमा तीव्र गिरावट आएपछि युरोपमा पनि त्यसको असर परेको थियो।

कारोबार

शांघाइस्थित धितोपत्र बजारमा मुख्य शेयरसूचकांक आठ दशमलव पांच प्रतिशतले झरेपछि कारोबार बन्द गरिएको थियो।

झण्डै दुई महिना अघिको तुलनामा शाङ्घाइको बजारले उसको मूल्य एकतिहाइ भन्दा बढीले गुमाइ सकेको छ।

सन् २००७ यता चीनमा शेयरहरुको भाउ यति तल झरेको यो पहिलो पटक हो।

चीनको केन्द्रिय बैङ्कले दुई साता अघि चिनियाँ मुद्रा युआनलाई अवमूल्यन गरेपछि थप चिन्ताहरु बढेका थिए।

विश्लेषकहरुले यसबाट चिनियाँ अर्थतन्त्रको स्थिति यस अघि सोचिएको भन्दा अरु बढी खराब हुनसक्ने अनुमान गरेका थिए।

चिनियाँ सरकारी समाचारपत्रहरुले आजको दिनलाई “कालो सोमबार” को संज्ञा दिएका छन्।

बीबीसीकी एसिया व्यापार संवाददाता करिश्मा वासवानी भन्छिन्, चीन सरकारले देशको अर्थतन्त्रप्रति विश्वास बढाउन र शेयरहरुको भाउमा वृद्धि गर्न के गरिरहेको छ भनेर सबैजना जान्न खोजीरहेका छन्।

अपेक्षा

मानिसहरुले केन्द्रिय बैङ्कले व्याज दर घटाउने र बजारमा विश्वास बढाउन कदमहरु उठाउने अपेक्षा गरेका थिए।

तर यो सप्ताहान्तमा पनि त्यस्तो कुनै कदम नउठाइपछि सोमबार बिहानको कारोवारमा शेयरहरुको भाउ ह्वात्तै घटेको थियो।

हाम्री संवाददाता भन्छिन्, चीन सरकारले दरिलो आश्वासन नदिएकाले लगानीकर्ताहरुले चिनियाँ धितोपत्रहरु किन्न खासै कारण देखेनन्।

आइजी कम्पनीका बजार विश्लेषक डेभिड म्याडेनले भने, “हामी निकै चाँडौ ओरालो लागिरहेका छौं जस्तो देखिन्छ। मेरो विचारमा आउँदा दिनहरु थप अनिश्चित हुनेछन्।”

त्यसो त चीनले हालै सरकारी पेन्सन कोषलाई धितोपत्र बजारमा लगानी गर्न दिने निर्णय गरेको थियो। तर उक्त निर्णयले पनि देशभित्र र बाहिर लगानीकर्ताहरुको चिन्ता संबोधन गर्न सकेन।

युरोपेली लगानीकर्ताहरु चिनियाँ मुद्रा सस्तो भएमा यसबाट युरोपेली निर्यातमा असर पर्नसक्ने चिन्ता व्यक्त गर्दछन्।

चीनमा विभिन्न वस्तुहरुको मागमा कमी आउनसक्ने चिन्ताका बीच विश्व बजारमा तेलको भाउ गएको ६ वर्ष यताको सबैभन्दा न्यून विन्दुमा पुगेको छ।

भारतमा पनि बिएसइ सूचकांकमा ५ प्रतिशतले गिरावट आएको थियो, जुन गत एक वर्ष यताको सबैभन्दा न्यून विन्दु हो।