थप दुई प्रदर्शनकारीको मृत्यु

  • 25 अगस्ट 2015
तस्वीर कपीराइट ramesh bajagain
Image caption कैलालीको टिकापुरमा पनि फेरि तनाव देखिएको अधिकारीहरुले बताएका छन्

रौतहट र रुपन्देहीमा घाईते भएका दुईजना प्रदर्शनकारीको मंगलबार मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

रौतहटको गौरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाईते भएका एकजनाको मृत्यु भएको हो।

उपचारका लागि अस्पताल लैजाँदै गर्दा १८ वर्षीय राजकिशोर ठाकुरको मृत्यु भएको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए।

भुजेलले भने, “दंगाग्रस्त क्षेत्रमा प्रदर्शनकारीहरुलाई रोक्न हवाईफायर र अश्रु ग्याँस प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि बाध्य भएर प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो।”

झडप

गौरको बीपी चोक नजिकै घटना भएको थियो।

त्यस्तै, रुपन्देहीको बेलहियामा गत साता प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा घाईते भएका एकजनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

रुपन्देहीका प्रहरी उपरीक्षक राजेन्द्र ढकालका अनुसार उपचारका क्रममा काठमाण्डूमा २३ वर्षीय दुर्गेश यादवको मृत्यु भएको हो।

गत बिहिबार बेलहियामा प्रहरीसँगको झडपमा उनी घाईते भएका थिए।