फ्रान्सेली रेलमा आक्रमण 'सुनियोजित'

  • 26 अगस्ट 2015
तस्वीर कपीराइट EPA
Image caption भारी हतियारधारीले फ्रान्सको रेलभित्र आक्रमण गर्दा दुइजना घाइते भएका थिए

फ्रान्सको एउटा रेलबाट नियन्त्रणमा लिइएका भारी हतियारधारी सुनियोजित र आक्रमणको पूर्ण तयारीसाथ आएको फ्रान्सका अभियोजनकर्ताले बताएका छन्।

अभियोजनकर्ता फ्रान्स्वाँ मोलिन्सले सन्चारकर्मीहरुलाई मंगलबार भने -पच्चीस वर्षीय अयुव एल खजानीले बन्दुकका २ सय ७० वटा गोली र एक बोत्तल पेट्रोल बोकेका थिए।

मोरक्कन खजानीले आक्रमणको ठीक अगाडि आफ्नो फोनमा जिहादी भीडीयो हेरेका थिए।

शुक्रबार उनलाई रेलकै अन्य यात्रुहरुले नियन्त्रणमा लिएका थिए। कसैको ज्यान गएन।

भीडीयो

बन्दुकधारीलाई नियन्त्रणमा लिएका तीनजना अमेरिकी र एकजना ब्रिटिशलाई बहादुरीका लागि तक्मा दिइएको थियो।

अभियोजनकर्ता मोलिन्सले सन्चारकर्मीहरुलाई भने-- 'खजानीले थलिस रेलमा बसिसकेपछि वफादारहरुले लडाइ गर्नुपर्ने र पैगम्बर मोहम्मदका नाममा हतियार उठाउनुपर्ने सन्देश भएको भीडीयो हेरेका थिए।'

खजानी विरुद्ध औपचारिक रुपमा आतंकबाद अनुसन्धान शुरु गरिएको छ।

युरोपेली अधिकारीहरुले संदिग्ध व्यक्तिका यात्रा विवरण र अतिवादी इश्लामसँग सम्बन्धबारे सूचना आदान प्रदान गर्ने भनेका छन्।

आरोप

अनुसन्धानकर्ताहरुले खजानी विरुद्ध थुप्रै हत्या प्रयासहरु सहित आतंकबात सम्बन्धित थुप्रै आरोपहरु लगाउने ठानिएको छ।

खजानी कट्टरपन्थी रहेको र हालै टर्कीको भ्रमण गरेको बताइएको छ।

खजानीले भने आतंकवादी आक्रमणको प्रयत्न भएको अस्वीकार गरेको र अघिल्लो दिन फेला परेको हतियारको प्रयोग गरेर यात्रुहरु लुटन खोजेको बयान दिएको बताइएको छ।