भूकम्पपछि लोडसेडिङ

  • 26 अगस्ट 2015

भूकम्पका कारण जलविद्युत पूर्वाधार निर्माणमा ढिलाइ हुने भएपछि जलस्रोतको धनी भनिने नेपाल अझै केहि वर्ष बिजुलीमा भारतसँग निर्भर रहनुपर्ने बाध्यता आइपरेको विद्युत अधिकारीहरुले बताएका छन्।

यतिसम्मकी छिमेकी भारतबाट थप विद्युत नल्याए आगामी हिउँदमा लोडसेडिङको समस्या विकराल हुनेछ।

तर भारतबाट थप बिजुली ल्याउने योजना बनिसकेकोले लोडसेडिङ दैनिक आठ घण्टामै सीमित हुने नेपाल विद्युत प्राधिकरणको भनाइ छ।

भूकम्पका कारण ४५ मेगावाट क्षमताको भोटेकोशी र १० मेगावाटको सिप्रिङ जस्ता निजी क्षेत्रद्वारा सञ्चालित कैयौं जलविद्युत केन्द्रमा नराम्रो क्षति पुग्न गयो।

योजना

निजी क्षेत्रबाट करिव ८० मेगावाट बिजुली उत्पादन बन्द हुन पुगेपछि नेपाल विद्युत प्राधिकरण अब लोडसेडिङ आठ घन्टाबाट नबढाउने उपायको खोजीमा लागेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेका अनुसार आगामी नोभेम्बरदेखि भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने र लोडसेडिङ थप बढ्न नदिने योजना बनेको छ।

उनले भने, “मुजफरपुरदेखि ढल्केबरसम्म जोड्ने नेपाल-भारत ट्रान्समिसन लाइनको निर्माण कार्य नोभेम्बरमा सकिंदैछ त्यसपछि हामी भारतबाट थप बिजुली किनेर लोडसेडिङलाई दैनिक आठ घण्टाबाट बढ्न नदिने तयारीमा छौ।”

विभिन्न दाताहरुको ऋण तथा अनुदान सहयोगमा भारतको विहारको मुज्जफरपुरदेखि नेपालको ढल्केबर जोड्ने आधुनिक र उच्च क्षमताको ४०० केभी विद्युत प्रसारण लाइनको निर्माण कार्य अहिले धमाधम भइरहेको प्राधिकरणको भनाइ छ।

सो लाइन जोड्ने काम आउने नोभेम्बरमा पुरा भएपछि भारतबाट थप बिजुली आयात सम्भव हुन्छ।

क्षमता

अहिले जलविद्युत उत्पादन बढी हुने वर्षाको समयमा पनि नेपालले भारतबाट करिव २ सय मेगावाट जति बिजुली किनिरहेको छ।

प्राधिकरणका अनुसार नेपाललाई अहिले करिव १३ सय मेगावाट बिजुली आवश्यक पर्छ तर देश भित्रको कुल जडित क्षमता करिव ८०० मेगावाट मात्र छ।

अझ हिउँदमा नदीमा पानीको बहावमा कमी संगै देशको जलविद्युत उत्पादन झण्डै ३३ प्रतिशतले झर्ने गर्दछ।

निर्माणाधीन ४५६ मेगावाटको दोलखाको माथिल्लो तामाकोशी, रसुवाका १११ मेगावाटको रसुवागढी, ५६ मेगावाटका माथिल्लो र तल्लो सान्जेन, २ नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशुली ए र २१६ मेगावाटको माथिल्लो त्रिशुली १, र सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्य भोटेकोसी जस्ता आयोजनामा क्षति पुगेपछि तीनको निर्माण सम्पन्न हुने समय पर धकेलिएको छ।

क्षति

स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल इपानका अनुसार निजी क्षेत्रको स्वामित्वमा रहेका भोटेकोसी र अन्य क्षतिग्रस्त विद्युत गृहलाई मर्मत गरि पुन: सञ्चालनमा ल्याउनको निम्ति आगामी तिहार अघि काम हुन नसक्ने स्थिति छ।

भोटेकोशी विद्युत कम्पनीका प्रमुख कार्यकारी नरेन्द्र प्रजापतिले भने, “हामीले दशैं वा तिहारपछि नभइ काम शुरु गर्नसक्ने स्थिति नै छैन, अझै डुबान र पहिरोको समस्या छ।”

क्षतिग्रस्त भोटेकोशी जस्ता विद्युत गृहको पुनर्निमाण गर्दै माथिल्लो तामाकोशी जस्ता नयाँ आयोजनाहरुको निर्माण कार्य छिटो सम्पन्न हुन सके मात्रै लोडसेडिङ घटाउन मद्दत पुग्ने जानकारहरु बताउँछन्।

उनीहरुको भनाइमा दीर्घकालीन रुपमा लोडसेडिङ हटाउने हो भने १२०० सय मेगावाटको प्रस्तावित बुढी गण्डकी जस्ता ठूला बाँधका जलासययुक्त आयोजना निर्माण हुनुपर्छ।