इजिप्टमा अल जजीराका पत्रकारलाई जेल सजाय

  • 29 अगस्ट 2015
Image caption इजिप्टको अदालतको यसअघिको आदेशको विरोधमा पनि विगतमा प्रदर्शनहरु भएका थिए

प्रतिबन्धित मुस्लिम ब्रदरहुडलाई सघाएको अभियोगमा इजिप्टको एउटा अदालतले अल जजीरा टेलिभिजनका तीनजना पत्रकारलाई शनिबार तीन वर्षका लागि जेल सजाय सुनाएको छ।

इजिप्टलाई हानी पुर्याउने गलत समाचार सम्प्रेषण गरेको आरोपबारे पुनः भएको सुनुवाईपछि उनीहरुले जेल सजाय पाएका हुन्।

जेल सजाय पाउनेमा अल जजीरा टेलिभिजनका पत्रकारहरु मोहम्मद फाहमी, पिटर ग्रेस्ट र बाहेर मोहम्मद छन्।

बाहेर मोहम्मदले तीन वर्ष बाहेक ६ महिना थप जेल सजाय पाएका छन्।

आक्रोश

यसअघि उनीहरुले पाएको कडा सजायलाई लिएर अघिल्लो फैसलाप्रति तीव्र आक्रोश व्यक्त भएका थिए।

पछि अदालतको फैसला उल्टयाइएको थियो।

शनिबार अदालतको फैसला सुन्न फाहमी र बाहेर अदालतमा उपस्थित थिए।

आफ्नो मुलुक अष्ट्रेलिया सुपुर्दगी गरिएका ग्रेस्ट चाहिँ अदालतमा अनुपस्थित थिए।

सजाय पाएका पत्रकारहरुले माथिल्लो अदालतमा पुनरावलोकनका निम्ति निवेदन दिन पाउनेछन्।

प्रमाण

इजिप्टको अदालतले सुनाएको फैसलाप्रति कडा प्रतिक्रिया आएका छन्।

ग्रेस्टले त्यसलाई स्तब्ध पार्ने र विध्वंशकारी भनि टिप्पणी गरेका छन्।

उनले भने, "एकदम शुरुदेखिनै अभियोजनकर्ताहरु हामी केका निम्ति दोषी छौँ र हामीले के गलत काम गरेका छौँ, के अपराध गरेका छौँ भनेर प्रमाण पेश गर्न विफल भईरहेका थिए, हामीले कुनै केही बनावटी कुरा गरेनौँ, यो भन्न कठिन छ कि कुन आधारमा अदालत यो निष्कर्षमा पुगेको हो।”

फाहमीकी वकिल अमाल क्लूनीले अदालतको आजको आदेशले काम गरेकै कारण इजिप्टमा पत्रकारहरु थुनिन सक्ने सन्देश प्रवाह गरेको बताइन्।

अल जजीरा मिडिया नेटवर्कले अदालतको आदेश तर्क र सामान्य सुझबुझ विपरीत भएको जनाएको छ।