नेपाल दक्षिण एशियाली यू १९ विजेता

  • 29 अगस्ट 2015
तस्वीर कपीराइट bharat bandhu thapa
Image caption उपाधि जित्न सफल भएपछि सामाजिक सञ्जालमा खेलाडीहरुको धेरै प्रशंसा भएका छन्

काठमाण्डौंमा आयोजित प्रतियोगिताका अघिल्ला खेलमा अफगानीस्तान, बांग्लादेश र भुटानलाई हराएको नेपालले आज फाइनलमा भारतसंग प्रतिस्पर्धात्मक खेल खेलेको थियो।

खेल शुरु भएको आधा घण्टामै तेज तामांगले गोल गरी नेपाललाई अग्रता दिलाएका थिए। सो अग्रता अधिकांश समय कायम रहेपनि खेल सकिनु करिब पाँच मिनेट अगाडि भारतले पेनाल्टी पाएपछि बराबरी हुन पुग्यो।

उपाधिका लागि त्यस लगत्तै ट्राइब्रेकर गराइएको थियो।

खुशी

ट्राई ब्रेकरको पहिलो शटमै भारतीय खेलाडीले गोल गर्न सकेनन्।

नेपालका तर्फबाट भने पाँचै खेलाडीले गोल गरे।

जीतपछि बोल्दै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली फुटबलको भविष्य राम्रो रहेको भन्दै खुशी प्रकट गरे।

<span >उपाधि

“२२ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि भित्र्याउन पाउँदा खुशी लागेको छ। हामीले यो खेलबाट दक्षिण एशियामा कोहीभन्दा कम छैनौं भन्ने प्रमाणित गर्यौं,” बालगोपाल महर्जनले भने।

नेपाली टोलीको जीतबारे टिप्पणी गर्दै कप्तान विमल घर्तीमगरले नेपाली दर्शक र शुभचिन्तकको आशा पूरा गर्न सकेकोमा खुशी भएको बताए।

लामो समयसम्म नेपालको राष्ट्रिय फुटबल टोलीले राम्रो प्रदर्शन गरेको छैन।

अन्य उमेर समूहमा पनि राम्रो नतीजा आउन सकेको थिएन। त्यसकारण शनिबारको जित बढी महत्वपूर्ण भएको अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले बताए।

"१६ वर्ष मुनिको उमेर समूहमा खेल्दा देखि नै यो टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो। एशियाली स्तरमै फाइनल राउन्डमा पुग्न सफल थियो। यसले विगतमा कुवेत अनि इराक जस्ता सशक्त टोलीलाई हराएको थियो। यसपाली यसले अफगानीस्तान बंग्लादेश तथा भारत सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सकेको छ। यसैले यसको धेरै महत्व छ," अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले भने।

एकता

फाइनलमा भारतलाई जित्नु अगाडि नेपालले सेमिफाइनलमा अर्को चीर प्रतिद्वन्द्वी अफगानिस्तानलाई २ का विरुद्ध ३ गोलले पराजित गरेको थियो।

अब करीब एक महिना पछाडी यही टोलीले इरानमा गएर एशियाली क्वालिफाइंग फुटबल प्रतियोगिता खेल्ने तयारी भइरहेको छ।

शनिबारको सफलतासंगै खेलकूद मन्त्रीले प्रत्येक खेलाडीलाई एक लाख रुपियाँ पुरस्कार घोषणा गरेका छन्।

खेलको नतीजा आउने वित्तिकै फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा थुप्रै मानिसले खुशियाली सहितको प्रतिक्रिया दिएका छन्।

कतिपयले राजनीतिमा पनि खेलमा जस्तै एकताबद्ध हुन सके नेपालले फड्को मार्न सक्ने टिप्पणी गरेका छन्।