'आप्रवासीप्रतिको व्यवहार लज्जाजनक'

  • 30 अगस्ट 2015
Image caption यो महिनामात्रै करिब ४० हजार मानिसहरु शरणको खोजीमा बालकन्सको बाटो हुँदै हंगेरी आइपुगेका छन्

फ्रान्सका विदेशमन्त्री लराँ फेबियसले हाल देखिएको आप्रवासी संकटबारे केही युरोपेली देशहरुको व्यवहारलाई, उनकै शब्दमा, लज्जास्पद भनेका छन्।

शरणार्थीहरुलाई प्रवेश दिन अस्वीकार गरिरहेका मुख्यगरी पूर्वी युरोपका देशहरुको उनले भर्त्सना गरे।

सर्बियाबाट आउने शरणार्थीहरुलाई रोक्न काँडे तारसहितको अवरोध खडा गरेकोमा हँगेरीको आलोचना गर्दै उनले त्यसले युरोपको साझा मान्यतालाई सम्मान नगरेको बताए।

ब्रिटेन र जर्मनीपछि अब फ्रान्सले पनि बढ्दो आप्रवसन संकटसँग जुझ्न युरोपेली संघका मन्त्रीहरुको आपत्कालिन बैठक डाक्न माग गरेको छ।

आलोचना

फ्रान्सेली विदेशीमन्त्रीले आप्रवासी संकटबारे पूर्वी युरोपका देशहरुले चालेको कदमको आलोचना गर्दै त्यस्तो माग राखेका हुन्।

केही युरोपेली देशहरुले आप्रवासीहरुका लागि छुट्याइएको कोटा स्वीकार नगरेको भन्दै उनले सर्बियासँगको सिमानामा १ सय ७५ किलो मिटर लामो काँडे तार लगाउने हंगेरीको कदमको आलोचना गरे।

गैरकानुनी रुपमा आफ्नो देशभित्र प्रवेश गर्नेहरुलाई नियन्त्रण गर्न शनिबार निर्माण पुरा गरिएको उक्त अस्थायी संरचनाको साटो १३ फिट अग्लो पर्खाल बनाउने योजना रहेको हंगेरीले बताएको छ।

यो महिना मात्रै झण्डै ४० हजार मानिसहरु शरणको खोजीमा बाल्कन्सको बाटो हुँदै हंगेरी आइपुगेका छन्।

उनीहरुमध्ये अधिकांश सिरियाली छन्।

यसैबीच अष्ट्रियाका प्रहरीहरुले एउटा मिनिभ्यानबाट उद्धार गरिएका ३ जना सिरियाली बालबालिका र उनीहरुका आफन्त उपचार गराइरहेको अस्पतालबाट हराएको जनाएका छन्।

अलपत्र

शरीरमा पानीको मात्रा एकदमै कम भएपछि अस्पतालमा भर्ना गरिएका उनीहरु एउटा सानो भ्यानमा २६ जना आप्रवासीसँगै यात्रा गरिरहेका थिए।

उनीहरु लगभग अचेत अवस्थामा जर्मनीसँगको सीमाना नजिकै फेला परेका थिए।

गत बिहीबार अष्ट्रियामा एउटा अलपत्र अवस्थामा छाडिएको लरीमा ७१ जना आप्रवासीको शव फेला परेको थियो।

हंगेरीको प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा पाँचौं व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।

अघिल्लो महिना करीब १ लाख साढे सात हजार आप्रवासीहरु युरोपको सीमामा प्रवेश गरेका थिए, जुन अहिलेसम्मकै सबैभन्दा बढी हो।

उनीहरुमध्ये कैयौंले आफुहरुलाई सीमा पार गराउन तस्करहरुलाई ठूलो रकम तिर्ने गरेको बताइएको छ।