जलासयमा भूकम्पीय जोखिम

  • 31 अगस्ट 2015

जलासयमा आधारित विद्युत आयोजनाहरु अघि बढाउने तयारी नेपाल विद्युत प्राधिकरणले गरिरहँदा सो विषयका विज्ञहरुले ती आयोजनामा भूकम्पीय जोखिम कम गर्नको निम्ति विस्तृत अध्ययन गर्न आवश्यक रहेको बताएका छन्।

Image caption नेपालका अधिकांश विद्युत आयोजना रन-अफ-रिभर अर्थात नदीको प्रवाहमा आधारित छन्

नेपालमा विजुलीको धेरै खपत हुने विहान र साँझको समयमा विद्युत अभावको कारण ठाउँ-ठाउँमा विद्युत आपूर्ती बन्द गर्दै लोडसेडिङ गर्ने गरिएको छ।

त्यस्तो बेला कुलेखानी जस्ता जलासयमा आधारित ठूला विद्युत गृह सञ्चालन गर्न सकिए, विजुलीको आपूर्ती मनग्गे गर्न सकिने जानकारहरु बताउँछन्।

तर निकट भविष्यमा कम्तीमा दशवटा जति जलासयमा आधारित विद्युत आयोजनाहरु अघि बढाउने तयारी भइरहेको नेपाल विद्युत प्राधिकरणको भनाइ छ।

नेपालमा विद्युत संकट समाधान गर्नको लागि भविष्यमा कम्तीमा १० वटा जलासययुक्त आयोजना बनाउने प्रस्ताव यस अघि नै सार्वजनिक भइसकेको छ।

जलासय

ती आयोजनामा १,२०० मेगावाटको बुढी गण्डकी, ३०० मेगावाटको दुधकोसी, ४१० मेगावाटको नलस्याउगढ, ५३६ मेगावाटको सुनकोसी-३, २०० मेगावाटको मादी, २४५ मेगावाटको नौमुरे आदि रहेका छन्।

त्यस्ता ठूला बाँधयुक्त जलासय बनाउँनु अघि भूकम्पीय जोखिम न्युनिकरण गर्नेबारे पर्याप्त गृहकार्य गरिएको हुन्छ?

हालै जापानी विकास नियोग जाइकासँग मिलेर १० वटा जलासय आयोजनाहरुको सम्भाव्यता अध्यनमा संग्लन नेपाल विद्युत प्राधिकरणका पुर्व उपकार्यकारी निर्देशक उपेन्द्रदेव भट्टका अनुसार भूकम्पीय जोखिमबारे आयोजनाको अध्ययन चरणबाटै ध्यान दिइएको हुन्छ।

उनले भने, “भूकम्पीय जोखिम र भौगर्भिक अवस्थालाई ध्यान दिएर नै संरचना निर्माण गरिन्छ। तर वैशाखको भूकम्पपछि अझ बढी सजग र सावधान हुनुपर्ने आवश्यकता मैंले देखि रहेको छु।”

जोखिम

६० मेगावाट क्षमताको कुलेखानी नेपालको एकमात्र जलासययुक्त विद्युत गृह हो। वैशाखका ठूला भुकम्पले कुलेखानीमा ठूलो क्षति पुर्याएन।

अहिले चर्चामा रहेको अर्को प्रस्तावित जलासययुक्त आयोजना हो काठमाण्डू देखि पश्चिम गोरखा र धादिङमा पर्ने १२०० सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजना। वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखमै रहेको थियो।

अहिले इन्जिनियरिङ डिजाइन तयार भइरहेको बुढीगण्डकी जलासय क्षेत्र वरपरको भौगर्भिक अवस्थाबारेको अध्ययनको निस्कर्ष के छ?

आयोजना प्रमुख गोपाल बस्नेत भन्छन् डिजाइनको क्रमदेखि नै भूकम्पीय जोखिमबारे गहन अध्ययन भइरहेको छ।

उनले भने, “हामी साढे आठ रिक्टर स्केल सम्मको भूइँचालो थेग्न सक्ने गरि बुढी गण्डकी आयोजना निर्माण गर्ने तयारीमा छौं।”

सावधानी

हालै सार्वजनिक अर्को एक अध्ययन अनुसार पोखरा र उत्तर भारतबीचको क्षेत्रमा सयौं वर्ष देखि ठूलो भूकम्प गएको छैन त्यसैले त्यस क्षेत्रमा भवन र पुर्वाधार निर्माण गर्दा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ।

सो अध्ययनमा सहभागी खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं भुकम्पविद् डाक्टर सोमनाथ सापकोटाको विचारमा जलासययुक्त विद्युत आयोजना बनाउनुअघि भूकम्पीय जोखिमबारे गहन अध्ययन जरुरी हुन्छ।

“जोखिम छ भन्दैमा आयोजना नबनाउने होइन, तर बाँध क्षेत्र र तलाउ क्षेत्रमा के कति भूकम्पीय जोखिम छ त्यस्को विस्तृत अध्ययन गरेर काम गर्नु पर्छ।”

वैशाखमा भूकम्पको झट्का व्यहोरेको भोटेकोसी विद्युत कम्पनीका प्रमुख कार्यकारी नरेन्द्र प्रजापति भन्छन् जोखिम न्युनिकरणबारेका अहिलेसम्मका प्रयासहरु पर्याप्त छैनन्।

उनले भने, “हामीले पाठ सिक्नै पर्छ हामीले अध्ययन गर्न नसक्ने हो भने विदेशी विज्ञको सहयोगमा भूकम्पीय जोखिम विस्तृत अध्ययन गरेर मात्रै आयोजनाहरु बनाउनु पर्छ।”

प्रस्ताव

पश्चिम नेपालमा नदीको प्रवाहमा आधारित माथिल्लो कर्णाली र जलासययुक्त नलस्याउगढ, पश्चिम सेती जस्ता जलविद्युत आयोजनाहरु बनाउने प्रस्ताव गरिएको छ।

अझ पश्चिममा नेपाल र भारतले मिलेर उच्च बाँधयुक्त महाकाली-पञ्चेश्वर जस्ता विद्युत उत्पादन गर्दै सिंचाईसमेत गर्ने महत्वाकांक्षी बहुउद्देश्यीय आयोजना बनाउने प्रस्ताव छ।

तर निकै ठूलो लगानी आवश्यक पर्ने त्यस्ता आयोजना बनाउनु पूर्व भूकम्पीय जोखिमका दृष्टीले अपनाउनु पर्ने पुर्व सावधानी र पुर्व तयारीहरुबारे कमै चर्चा हुने गरेको छ।