आप्रवासीलाई रेलयात्रामा हंगेरीको रोक

  • 1 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Getty
Image caption हंगेरीबाट अष्ट्रिया हुँदै आप्रवासीहरु जर्मनी जान लागेका थिए

हंगेरीका अधिकारीहरुले आफूहरुलाई राजधानी बुडापेष्टको एउटा प्रमुख रेल स्टेशन प्रयोग गरी अष्ट्रिया र जर्मनीको यात्रा गर्न बन्देज लगाए पछि सयौं आप्रवासीहरुले प्रदर्शन गरिरहेका छन्।

केहीबेर बन्द गरिएको उक्त रेलवे स्टेशन गैरआप्रवासी यात्रुहरुका लागि अहिले खुल्ला गरिएको छ।

यसैबीच सयौंको संख्यामा आप्रवासी चढेको एउटा रेल अष्ट्रियाबाट जर्मनी पुगेको छ।

जर्मन चान्सलर एंगेला मर्केलले शरणार्थीहरुलाई उचित रुपमा युरोपभरी बांडिनुपर्ने बताएकी छन्।

नारा

बुडापेष्टको केलइटी स्टेशनबाट जबर्जस्ती बाहिर निकालिएपछि आप्रवासीहरुले आफ्नो टिकट देखाउँदै ‘जर्मनी’ अनि ‘स्वतन्त्रता’ भन्दै नारा लगाएका थिए।

त्यहाँ भेला भएका आप्रवासीमध्ये अधिकांश सिरिया, अफगानिस्तान र इरिट्रियाबाट आएका हुन्।

तस्वीर कपीराइट Reuters
Image caption आप्रवासीहरुले रेल स्टेशन बाहिर विरोध गरिरहेका छन्

मंगलबार उक्त रेल स्टेशनबाट झन्डै एक हजार जनालाई बाहिर निकालिएको थियो।

रेलसेवा छोटो समयका लागि बन्द गर्दै कुनै पनि रेल नगुड्ने सार्वजनिक सूचना समेत जारी गरिएको थियो।

तर पछि आप्रवासीहरुलाई मुख्य गेटमा रोक्दै अरु यात्रुका लागि रेल सेवा खोलिएको थियो।

बुडापेष्टमा रहेका बीबीसी सम्वाददाता भन्छन्, रेलवे स्टेशनभित्र छिर्ने अवसर कुरिरहेका सयौं आप्रवासीका कारण त्यहाँको दृश्य अस्तव्यस्त देखिन्छ।

अधिकारीहरुले हंगेरीले सुव्यवस्था कायम गर्न युरोपेली संघको नियम लागू गर्न खोजिरहेको बताएका छन्।

यसैबीच जर्मन चान्सलर एंगेला मर्केलले शरणार्थीहरुलाई उचित रुपमा युरोपभरी बांडिनुपर्ने बताएकी छन्।

उता अष्ट्रियन प्रहरीले करिब तीन हजार ६ सय आप्रवासी हंगेरीबाट सोमबार भियना पुगेको र उनीहरु मध्ये धेरै जर्मनीका लागि हिंडेको जनाएका छन्।

मंगलबार बिहानसम्म १४ सय जति आप्रवासी जर्मनीको दक्षिण शहर म्युनिख पुगिसकेको बताइएको छ।

उच्च

जुलाइमा हालसम्मकै उच्च १ लाख ७ हजार ५ सय आप्रवासी युरोप प्रवेश गरेका थिए।

जर्मनीले अघिल्लो वर्षको कुल संख्या भन्दा चार गुणा बढी अर्थात् झन्डै ८ लाख आप्रवासी यो वर्षभरिमा स्वीकार गर्ने अपेक्षा गरिएको छ।

युरोपेली आयोगको डब्लिन नियम अनुसार आप्रवासीहरुले प्रवेश गरेको इयुको पहिलो सदस्य राष्ट्रमा आफूलाई दर्ता गर्नुपर्छ।

तर उक्त नियमको व्यापक उल्लंघन भएको छ, हंगेरी पुगेका आप्रवासी मध्ये धेरै ग्रीसमा शरण माग गर्न असमर्थ भएपछि त्यहाँ पुगेका हुन्।

जर्मन सरकारले सिरियाबाट आएका आप्रवासीका निम्ति आफूले डब्लिन नियम निलम्बन गरेको जनाएको छ।