भारतीय सडक योजनाबारे ‘गम्भीर छलफल’

  • 1 सेप्टेम्बर 2015
नेपाल र भारतको सीमा क्षेत्र तस्वीर कपीराइट umakanta khanal
Image caption नेपाल र भारतको सीमा क्षेत्रमा नयाँ सडकका कारण डुवान समस्या विकराल हुने चिन्ता व्याप्त छ

नेपाल-भारत दशगजा क्षेत्रमै भारतीय पक्षले निर्माण गरिरहेको विवादास्पद सडकबारे पुनर्विचार गर्न आग्रहसहित भारतसँग विभिन्न तहमा छलफल थालिएको अधिकारीहरुले बताएका छन्।

आगामी छलफलहरुमा भने त्यो पछिल्लो मुद्दासंगै डुबानका समस्याबारे एकमुष्ट रुपमा भारतीय पक्षसंग कुरा गर्न लागिएको भारतका लागि नेपाली राजदूतले जनाएका छन्।

नेपालका स्थानीय अधिकारीसंग सहमति लिएर निर्माण कार्य गरेको बताउने भारतीय पक्षले उक्त सडकबारे पुनर्विचार गर्न आफू तयार रहेको बताएको छ।

नेपाल र भारतको सीमा क्षेत्रमा पहिलेदेखि नै बनेका बाँध र तटबन्धका कारण कतिपय भूभागमा डुवान भइरहँदा भारतीय पक्षले निर्माण गरिरहेको ३ मिटर अग्लो र ७ मिटर चौडा सडकका कारण थप डुवान भएको नेपाली सरकारी भनाई छ।

‘डुबान’

करिव १६ सय किलोमिटर लामो हुने बताइएको उक्त सडक सीमाको दशगजा क्षेत्र नजिकै नेपाली पक्षलाई जानकारी नै नदिएर निर्माण गरिएको अधिकारीहरुले बताएका छन्।

उक्त सडकले पानीको प्राकृतिक वहाव अवरुद्ध पारेको भन्दै निर्माण कार्य रोक्न डुबान प्रभावित क्षेत्रका बासिन्दाले माग गरिरहेका छन्।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भने, "नीति निर्माण तहका नेताहरु र मित्रहरुलाई भनेको छु: एउटा सार्वभौंम देशले अर्को सार्वभौंम देशको सहमति विपरीत त्यसरी सिमानामा जोडेर नै त्यस किसिमको संरचना बनाउनु उपयुक्त हो कि हैन?

“अब त्यस विषयमा कुटनीतिक रुपमा छलफलहरु अघि बढ्छ। सो विषयमा चाँडै नै हाम्रो द्वीपक्षीय संयन्त्रको बैठक पनि हुँदैछ।"

विगतमा निश्चित क्षेत्रमा भएको डुबानको कुरामात्र हुने गरेकोमा यस पटक भने सबै क्षेत्रमा भएका विभिन्न निर्माणका कारण देखा परेको समस्याको हल खोज्ने प्रयास हुने राजदूत उपाध्यायले बताए।

उनले भने, "सिमानामै जोडिएका सडक हुन कि तटबन्ध हुन? यसबारे परिणाममुखी छलफलमा जानु पर्दछ भनेर गम्भीरताका साथमा कुरा उठाइ रहेका छौं।”

भारतीय अधिकारीहरुले भने सन् २०१४ मा बाँके जिल्लाका अधिकारीहरुसँग निर्माणको सहमति गरिएको बताएका छन्।

नेपाललाई उक्त सडक निर्माणले समस्या पारेको भए समाधानका लागि आफूहरु तयार रहेको भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले बीबीसीलाई बताए।

निर्माण भैरहेको उक्त सडक भन्दा पहिले पनि भारतले दुई देशको सीमा क्षेत्रमा निर्माण गरेका १९ वटा भौतिक संरचना रहेको बताइएको छ।