'दुई हजार वर्ष पुरानो मन्दिर ध्वस्त भएको पुष्टि'

  • 1 सेप्टेम्बर 2015
तस्वीर कपीराइट AFP
Image caption राष्ट्रसंघीय निकायले मन्दिरको करिव-करिव केही पनि नबचेको भू-उपग्रहीय तस्विरले देखाएको जनाएको छ

संयुक्त राष्ट्रसंघले सिरियाको प्राचीन शहर पल्माइरास्थित २ हजार वर्ष पुरानो एउटा मन्दिर ध्वस्त भएको भू-उपग्रहीय तस्बिरले पुष्टि गरेको जनाएको छ।

इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले त्यहाँको बेल मन्दिरमा बिस्फोट गराएका हुन्।

सोमबार सरियाका पुरातत्व तथा संग्राहलय विभागका प्रमुख मामुन अब्दुल करिमले मन्दिरमा ठूलो विष्फोट गराइएको तर अधिकांश संरचना अखण्ड रहेको विश्वास व्यक्त गरेका थिए।

तर राष्ट्रसंघीय निकाय युएनओएसएटीले मन्दिरको करिव-करिव केही पनि नबचेको भू-उपग्रहीय तस्बिरले देखाएको जनाएको छ।

अर्को हमला

युएनओएसएटीका एकजना प्रबन्धक एनर जोर्गोले मंगलबार सबेरै बीबीसीलाई भने, “दुर्भाग्य, हामीले प्राप्त गरेका तस्बिरहरुले मन्दिरको मुख्य भवन ध्वस्त भएको देखाउँछ। ३१ अगस्टको तस्वि र र आक्रमण हुनु अघिको २७ अगस्ट तस्विरको तुलना गर्यौं, मन्दिरको पहिलेको संरचना ठडिएको देखिन्न।”

उनका अनुसार नजिकका स्तम्भहरु पनि ध्वस्त भएका छन्।

गतसाता पल्माइराकै बालशमीन मन्दिर पनि विष्फोटन गराइएको पुष्टी भएको थियो।

युएनओएसएटीले सोमबार सार्वजनिक गरेको तस्विरले मन्दिरका भागहरुमा ठूलो क्षति पुगेको वा पूर्ण रुपमा ध्वस्त भएको पुष्टि गरेका छन्।

निशाना

आईएसका लडाकूहरुले विश्व सम्पदा क्षेत्रलाई लिएर त्रास फैलाउँदै मे महिनामा पल्माइरालाई नियन्त्रणमा लिएका थिए।

सिरियाली राजधानी डमास्कसको उतरपूर्वी उक्त मरुभूमि शहरमा विश्व प्रसिद्ध प्राचीन अवेशेषहरु छन्।

प्रचीन शहरको एउटा संरक्षित अंश बेल पल्माइराका देवी-देवताहरुमा समर्पित मन्दिर हो।

लडाकूहरुले आफ्ना बाहेक अरु कुनै भगवानको धार्मिकस्थल अपवित्र हो भन्ने मान्यता राख्छन्।

आईएसले यसअघि ऐतिहासिक सम्पदाहरुलाई निशाना बनाएको थियो।