आप्रवासी अष्ट्रिया पुगे

  • 5 सेप्टेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption रेल चढन नपाएपछि हंगेरीबाट अष्ट्रिया पैदल हिंडिरहेका आप्रवासीहरु

हंगेरीमा केहि समय अलपत्र परेका आप्रवासीहरु अष्ट्रियाले ढोका खोले लगत्तै त्यहाँ पुगेका छन्।

यस अघि अष्ट्रियाका चान्सलर भर्नर फेम्यानले उनको देश र जर्मनीले आप्रवसीलाई हंगेरी पार गरेर उनीहरुको देशमा आउन दिने सहमति गरेको बताएका थिए।

हंगेरीका अधिकारीहरुले सीमातर्फ पैदल हिँडिरहेकाहरुका लागि बस पठाएको केहि बेरपछि फेम्यानले उक्त कुरा बताएका थिए।

प्रहरीसँग झडपपछि सयौं आप्रवासीहरु हंगेरीमा बनाइएका दर्ता केन्द्रमा लग्ने प्रयत्न उल्लंघन गर्दै बुडापेष्टस्थित रेल स्टेशन छोडेर पैदल हिंडेका थिए।

केहि दिन यताका अस्तव्यस्त दृष्यहरु माझ शुक्रबार राती यातायातका साधनबाट आप्रवासीको ओसार पसार गर्ने भन्ने हंगेरीका प्रधानमन्त्रीका मुख्य अधिकारीबाट अचानक घोषणा आएको हो।

विज्ञप्ती

मध्य बुडापेष्टस्थित केलेटि स्टेशनबाहिर बसिरहेका आप्रवासी लिन पनि बसहरु आइरहेको बताइएको छ।

यि बसहरुले अष्ट्रियाको सीमासम्म मानिसहरुलाई पुर्याउने बताइएको छ।

अष्ट्रियाको आन्तरिक मन्त्रालयको विज्ञप्तीमा भनिएको छ- आप्रवासी बुझ्न प्रहरी र रेड क्रस तयारी अवस्थामा छन्।

आप्रवासीलाई अष्ट्रियामा शरण माग्ने अवसर दिइने पनि विज्ञप्तीमा जनाइएको छ।

डर

अष्ट्रियन चान्सलरले उनको फेसबुकमा जनाए अनुसार जर्मन समकक्षी एंगेला मर्कलसँगको कुराकानीपछि आप्रवासीलाई आफ्नो देश प्रवेश गर्न दिन सहमति गरिएको हो।

आप्रवासीसँगसँगै हिंडिरहेका म्याथ्यु प्रीसले भने -'रात परेपछि पनि कैयौं हिंडिरहे तर बच्चा भएका र अन्य कैयौं भने खुला आकाशमुनी रात विताउन रोकिए।'

बसहरु पनि गिरफ्तार गर्ने चाल हो कि भन्ने पनि आप्रवासीमा डर छ।

मध्य पूर्व र अफ्रिका छोडेर उत्तरी र पश्चिमी युरोप पुग्न चाहनेहरुका लागि हंगेरी मुख्य ट्रान्जिट मुलुक बन्दै आएको छ।

युरोपियन युनियनका देशहरु यो समस्यालाई कसरी पार लगाउने भन्ने सहमती खोजिरहेका छन्।