लक्ष्यको एक तिहाइमात्रै राजस्व संकलन

  • 6 सेप्टेम्बर 2015
Image caption तराईका कतिपय जिल्लामा भइरहेको बन्द अझै कति समय लम्बिने हो अनिश्चित देखिन्छ

नेपाल र भारतबीचका मुख्य भन्सार नाका रहेका तराईका जिल्लाहरुमा प्रदेश सीमांकनको असन्तोषका कारण तीन सातादेखि आन्दोलन हुँदा उक्त अवधिमा लक्ष्यभन्दा एक तिहाई मात्र राजस्व संकलन हुन सकेको अधिकारीहरुले बताएका छन्।

भदौ महिनामा भन्सार विभागले ती नाकाबाट करिब १७ अर्ब रुपैँया संकलन गर्ने लक्ष्य राखेको थियो।

खासगरी वीरगंज र भैरहवा क्षेत्रमा भएको बन्दको प्रभावले राजस्व संकलनमा धेरै असर गरेको बताइएको छ।

यो वर्षको सुरुमै गएको भूकम्पका कारण चीनको सीमासंग जोडिएको तातोपानी र रसुवा भन्सार नाका बन्द हुँदा भन्सार संकलन लक्ष्य भन्दा कम भइरहेको थियो।

अनुभव

त्यसमाथि यो महिनाको सुरुदेखि नै सीमांकनको विरोधमा भारतसंग सीमा जोडिएका तराईका मुख्य भन्सार नाकाहरु रहेको जिल्लामा आन्दोलन जारी छ।

त्यसले पारेको असरबारे भन्सार विभागका निर्देशक सूर्य सेढाइँले भने, "भदौमा १७ अर्ब १८ करोड रुपैँया उठाउने लक्ष्य भएकोमा १८ गतेसम्म जम्मा ५ करोड रुपैँया २४ करोड रुपैँया राजस्व असुल हुनसकेको छ, जुन लक्ष्यको ३१ प्रतिशतमात्रै हो।"

वीरगञ्जबाट मात्रै करिब ५० प्रतिशत भन्सार राजस्व उठ्ने गरेको छ।

यसपटक त्यहाँ चर्किएको हिंसामा मानिसहरुको ज्यानै गएपछि लागेको कर्फ्यू र त्यसपछिको परिस्थितिले निकै प्रभाव पारेको छ।

अघिल्लो महिनाको यस अवधिमा करिब दुई तिहाइ रकम उठिसकेकोमा यो महिना निकै कम भएको विभागको अनुभव छ।

अपेक्षा

निर्देशक सूर्य सेढाइँले भने, "त्यसबेलासम्म ६०/७० प्रतिशत भन्दा धेरै उठिसकेको हुन्थ्यो। साउन महिनामा पनि यतिबेला ७०/७५ प्रतिशत राजस्व उठाइसकेका थियौं।"

तर यो महिनाको अब बाँकी रहेको समय तराईको अवस्था सामान्य बन्न पुगे त्यसपछि लगातार सामान भित्रिँदा उठ्ने भन्सार राजस्वबाट लक्ष्य भेट्टाउन मद्दत पुग्ने अपेक्षा रहेको उनले बताए।

तर चीनसँगको सीमा नाका अवरुद्ध भइरहेको बेला भारतसँग जोडिएको नाकामा पनि बन्दको असर अनिश्चित बन्दा त्यसले यो वर्षको लक्षित राजस्व संकलन कम हुने हो कि भन्ने चिन्ता व्यक्त भइरहेका छन्।