डा.केसी र सरकारबीच सहमति, 'उपलब्धि' के?

  • 6 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Badri Pant
Image caption स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचभन्दा टाढा भएको र व्यापार बनेको व्यापक गुनासो सुनिदै आएको छ

चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबिच हिजो झण्डै मध्यरातमा सहमति भएको छ।

११ बुँदे सहमतिमा डा. केसी र सरकारको तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोख्रेल र मुख्य सचिव सोमलाल सुवेदीले हस्ताक्षर गरेका छन्।

सहमतिले शिक्षाविद् केदारभक्त माथेमा नेतृत्वको कार्यदलले पेश गरेको प्रतिवेदनका सबै जसो मूलभूत पक्षहरु लागू गर्ने सुनिश्चितता प्रदान गरेको डा. केसी पक्षधरहरुको भनाई छ।

आयोग बन्ने

सहमति अनुसार माथेमा कार्यदलले औंल्याएको चिकित्सा शिक्षा आयोगको गठन मन्त्रिपरिषद्को आउँदो बैठकले गर्ने छ।

कार्यदलमा सदस्य रहेका त्रिवि शिक्षण अस्पातलका डा. भगवान कोइराला भन्छन्, “चिकित्सा क्षेत्रसँग सम्बन्धित योजना र समन्वयको निम्ति उक्त आयोग सधैंका लागि नियमनकारी निकायका रुपमा रहनेछ।”

उनका अनुसार चिकित्साशास्त्र अध्ययनको निम्ति योग्यताक्रमका आधारमा मात्र भर्ना हुन पाउने, चिकित्सा शिक्षालयको स्थापना क्षेत्रिय सन्तुलन मिलाउने ढंगले गर्ने लगायतका कुरा थप उपलब्धिहरु हुन्।

उनी भन्छन्, "काठमाण्डूमा मेडिकल कलेज स्थापनाका निम्ति दिइएका आशयपत्र नविकरण नगर्ने, स्नातकोत्तर शिक्षाको सिट संख्या बढाउने तथा विशेषज्ञ चिकित्सक उत्पादन गर्न वैकल्पिक व्यवस्था गर्ने लगायतका कुरा चिकित्सा शिक्षा गुणस्तर सुधार्नका निम्ति महत्वपूर्ण हुनेछन्।"

डा. केसी यसअघि पनि पाँच पटक आमरण आमरण अनशन बसेका थिए।

विगतमा भएका सहमति सरकारले लागू नगरेको भन्दै उनले त्यस्तो बाटो समात्ने गरेका छन्।

विश्वास

तस्वीर कपीराइट bbc
Image caption असहमतिका केही स्वर सुनिए पनि डा.केसीको मागप्रति धेरैले समर्थन जनाउने गरेका छन्

के अब पुरानो बाटो डा. केसीले चटक्कै छाड्ने सुनिश्चितता पछिल्लो सहमतिले गर्छ?

डा. कोइराला भन्छन्, "चिकित्सा शिक्षा सम्बन्धि नीति साँच्चिकै व्यवहारमा लागू भयो भने यो क्षेत्रमा त्यसबारे अनशन वा त्यस्तो ठूलो आन्दोलन गर्नु पर्ने अवस्था रहने छैन् भन्ने कुरामा म विश्वस्त छु।"

डा. केसीको आन्दोलनप्रति असहमति जनाउनेहरु पनि बेलाबखत देखिने गरेका छन्।

काठमाण्डूमा मेडिकल कलेज स्थापनाको पक्षमा रहेका नेकपा एमालेका कतिपय सभासदले संसदमै उनको मागको आलोचना गरेका थिए।

तर डा. केसीले एमालेकै कतिपय नेता-कार्यकर्तासँगै चिकित्सा बाहेकका अन्य विभिन्न क्षेत्रबाट समेत देशव्यापी रुपमा समर्थन पाउँदै आएका छन्।