'पांचलाख शरणार्थी सहजै लिने'

  • 8 सेप्टेम्बर 2015
आप्रवासी तस्वीर कपीराइट Getty
Image caption आप्रवासीहरुप्रति जर्मनीमा मिश्रित प्रतिकृया देखिएको छ

जर्मनीका उप चान्सलरले आगामी केही वर्षसम्म उनको देशले प्रतिबर्ष पांचलाख शरणार्थीहरुलाई सहजै ग्रहण गर्न सक्ने बताएका छन्।

उप चान्सलर जीकमार गाब्रीएलले अन्य युरोपेली संघका सदस्य राष्ट्रहरुले पनि शरणार्थीहरुलाई आफुकहां स्वीकार गर्नु पर्नेमा जोड दिए।

युरोपेली आयोगले एक लाख साठी हजार शरणार्थीहरुलाई युरोपेली संघका विभिन्न ठाउंमा पुनर्स्थापना गर्ने विवादास्पद प्रस्तावलाई अन्तिम रुप दिने बैठकको तयारी गरिरहँदा जर्मनीका उप चान्सलरको त्यस्तो टिप्पणी आएको हो।   जर्मनीले सन् २०१५ मा मात्रै आठ लाख भन्दा बढी शरण खोज्नेहरु आफू कहां आउने अनुमान गरेको छ, जुन सन् २०१४ को दाँजोमा चार गुणा बढी हो।

शरणार्थी

जर्मनीका उप चान्सलर जीकमार गाब्रीएलले यो वर्ष शरणार्थीहरु ठूलो संख्यामा आउने अनुमान गरिएपनि उनको देश दीर्घकालिन रुपमा नै त्यसप्रति तयार रहेको बताए।

“हामी आउंदा केही वर्षसम्म हरेक वर्ष पांचलाख जनालाई स्वीकार गर्न सक्छौं,“ उनले भने।

तर उनले युरोपेली संघका अरु देशहरुले पनि यो प्रकृयामा सहभागिता जनाउनु पर्नेमा जोड दिए।

युरोपेली आयोगका प्रमुख जं-क्लोड युंकरले बुधबार एकलाख साठी हजार शरणार्थीहरुलाई सदस्य राष्ट्रहरु माझ अनिवार्य रुपमा वितरण गर्ने प्रस्ताव सार्वजनिक गर्ने अनुमान गरिएको छ।

त्यस्तो योजनालाई संयुक्त राष्ट्र संघले हाल देखिएको एक मात्र समाधान भनेको छ।

संयुक्त राष्ट्र संघको शरणार्थी निकाय युनएचसीआरले भनेको छ सोमबार मात्रै सात हजार सिरियाली आप्रवासीहरु मेसोडोनिया पुगेका थिए, र अन्य ग्रीक टापुहरुमा तिनीहरुको संख्या तीस हजार छ।

आप्रवासी

धेरै जसो सिरियालीहरु रहेका ती आप्रवासीहरु टर्की हुंदै समुद्र पार गरेर ग्रीस अनि मेसेडोनिया, सर्विया र त्यसपछि हंगेरी प्रवेश गर्ने गर्दछन्, जहांबाट उनीहरुको उद्देश्य अष्ट्रिया र जर्मनी जाने हुने गर्छ।

आप्रवासीहरुको यस्तो बढ्दो आगमनले युरोपेली सरकारहरुलाई असहज अवस्था खडा गरिदिएको छ र उनीहरुले त्यसप्रति विभिन्न खाले प्रतिक्रियाहरु व्यक्त गरिरहेका छन्।

हंगेरीको पुरातनवादी नेतृत्वले आप्रवासीहरुलाई दुरुत्साहित गर्न सीमामा तारवार लगाउंदैछ।

तर जर्मन राजनीतिज्ञहरुले आफ्नो देशमा आप्रवासीहरुलाई स्वागत गर्न भीड जम्मा भएको प्रति गर्वको अनुभूति भएको बताइरहेका छन्।