महारानी एलिजाबेथ द्वीतीय: शासनमा कीर्तिमान

  • 9 सेप्टेम्बर 2015
Image caption महारानी एलिजाबेथको सर्वाधिक शासनकालको अवसरमा जारी फोटो

महारानी एलिजावेथ द्वीतीय ब्रिटेनमा सबैभन्दा लामो समय शासन गर्ने रानी बनेकी छिन्।

उनले आफ्नी हजुरआमाकी हजुरआमा महारानी भिक्टोरियाको कीर्तिमान तोड्न लागेकी हुन्।

महारानीले राज गरेको बुधबार ब्रिटिश समय १७ बजेर ५० मिनेमा शासन गरेको ६३ वर्ष सात महिना अर्थात २३ हजार २ सय २६ दिन १६ घण्टा ३० मिनेट हुनेछ।

प्रधानमन्त्री डेभिड क्यामरनले हाउस अफ कमन्समा बोल्दै उनको शासनकलाको उच्च प्रशंसा गरे।

सलामी

टेम्स नदीमा ब्रिटिश महारानीलाई सलामी चढाइनेछ।

८९ वर्षीया महारानीले स्कटल्याण्डमा बुधबार नै एउटा औपचारिक कार्यक्रममा भाग लिएकी थिइन्।

उनका पिता जर्ज छैठौंको ६ फ्रेब्रुअरी १९५२ का दिन सवेरै निधन भएको थियो।

संसदमा सांसदहरुले रानीप्रति सम्मान व्यक्त गर्न पाउन भनेर संसदको कारवाही आधा घण्टा पछाडि सारिने छ।

टावर ब्रिजदेखि संसदबीच टेम्स नदीमा हुने प्रर्दशनीमा ऐतिहासिक डुंगाहरु, क्रुजरहरु र यात्रुवाहक डुंगाहरु सहभागी हुनेछन्।

सम्मानस्वरुप पुल उठाइनेछ र चार तोपको सलामी दिइनेछ।

लण्डनको बीटी टावरमा उनी शासन गरिरहून् भन्ने सन्देश स्क्रोल गरिनेछ।

प्रधानमन्त्रीको सम्मान

बकिङ्घम दरबारले उक्त अवसरका लागि महारानीको निजी भेटघाट कक्षमा मेरी म्याककार्टनीले खिचेको औपचारिक फोटो सार्वजनिक गरेको छ।

यही कक्षमा उनले प्रधानमन्त्रीसँग साप्ताहिक भेटघाट गर्छिन् र भ्रमणमा आएका राज्य र सरकारप्रमुखहरुलाई भेट दिन्छिन्।

प्रधानमन्त्रीकी औपचारिक प्रवक्ताले भनिन्, “प्रधानमन्त्री क्यामरनले सोमबारकै मन्त्रिपरिषद्को बैठकमा महारानीप्रति सम्मान व्यक्त गरेका छन्।”

क्यामरने भने, “महत्वपूर्ण रेकर्ड’ बनाएकी महारानी ‘संसारभर प्रशंसा गरिएको ब्रिटेनको स्थायी भावनाको संकेत’ हुन्।”

बुधबार रानीको सधैंको जस्तो कार्यतालिका छ र उत्सव मनाउने कुनै विशेष कार्यक्रम छैन।

उनीसँगै २९ करोड ४० लाख पाउण्डको स्कटिश बोर्डर्स रेल्वे उद्घाटनमा उनका पति ड्युक अफ एडिनबरा सहभागी भएका थिए।

उनीहरु स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टर्जनसँग वाफले चल्ने रेलमा सयर गर्नेछन्।

उनी अहिले परम्परागत ग्रीष्मकालीन विदा मनाउन बालमोरल दरबारमा छिन्।

'राजनीति भन्दा माथि'

पूर्व प्रधानमन्त्री जोन मेजरले ब्रिटिश महारानी राजनीतिभन्दा माथि रहेकी बताए।

उनले भने, “राष्ट्रप्रमुखका रुपमा महारानी राजनीतिको अंश होइनन्, उनी राजनीतिभन्दा माथि छन्।”

राष्ट्रप्रमुखका रुपमा उनी निस्क्रिय छिन् भन्ने जिज्ञाशाबारे मेजरले भने “यदि राजनीतिको अंग भएको भए राजतन्त्र अहिलेजस्तो प्रिय हुँदैनथ्यो, उनीहरु राजनीतिभन्दा टाढा र राजनीतिभन्दा माथि छन्।”

"तर जब रानीले उनका प्रधानमन्त्री भेट्छिन् उनले प्रश्न सोध्ने, परामर्श दिने मौका पाउँछिन्, ती बैठकहरुमा के हुन्छ भन्ने कुनै प्रधानमन्त्रीले कसैलाई भन्ने छैनन्, त्यसैले कसैलाई थाहा छैन, जसले उनी निस्क्रिय भनेका छन् उनीहरुलाई के थाहा छ र?"

राजतन्त्र विरोधी समूह रिपब्लिकले भनेको छ, रानीको लामो शासन सुधारका लागि हो न कि उत्सव मनाउन।

रिपब्लिकका प्रमुख कार्यकारी ग्राहम स्मिथले भने,"अब देशले भविष्य हेर्नुपर्छ र स्वतन्त्र तथा निष्पक्ष निर्वाचन मार्फत भावी उत्तराधिकारी चुन्नुपर्छ जसले देशको वास्तविक प्रतिनिधित्व गर्न सक्छ।"