कोटा प्रणाली पहिलो कदमः मर्केल

  • 9 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Getty
Image caption सबैभन्दा बढी सिरियाली शरणार्थीहरुलाई जर्मनीले लिइरहेको बताइएको छ

जर्मन चान्सलर एंगेला मर्केलले युरोपियन युनियनका प्रत्येक सदस्य राष्ट्रले आप्रवासीहरु लिनुपर्ने संख्यासम्बन्धी अनिवार्य कोटा प्रणाली ‘पहिलो कदम’ भएको बताएकी छन्।

आप्रवासीहरुको बढ्दो संख्या थेग्न इयुले संघर्ष गरिरहेको बेला उनको पछिल्लो भनाई आएको हो।

युरोपियन कमिसनले कोटा प्रणाली र एक लाख २० हजार आप्रवासीहरुको संख्यालाई युरोपियन युनियनका सदस्य राष्ट्रहरुबीच बाँडफाँड गर्नेसहितका योजना बुधबार सार्वजनिक गर्दैछ।

जर्मनीले भविष्यमा थप शरणार्थीहरु लिन सक्ने भएपनि संख्या बाँडफाँड गर्नुपर्ने बताएको छ।

‘महत्वपूर्ण कदम’

चान्सलर एंगेला मर्केल जर्मनीको भ्रमणमा रहेका स्वीडेनका प्रधानमन्त्री स्टेफान लोभेनसँगै कोटा प्रणालीबारे बोल्दै थिइन।

शरण लिन खोजिरहेका सिरियाका सबैभन्दा बढी आप्रवासीहरुलाई अहिलेसम्म जर्मनी र स्वीडेनले स्थान दिएका छन्।

युरोपियन कमिसनको प्रस्तावलाई ‘एउटा महत्वपूर्ण कदम’ भन्दै मर्केलले शरण लिन खोज्ने अधिकारप्रति इयु ‘खुला रहनुपर्ने’ बताइन।

यसअघि जर्मन उप चान्सलरले आगामी केही वर्षका लागि प्रत्येक वर्ष पाँच लाखसम्म शरणार्थीलाई जर्मनीले लिन सक्ने बताएका थिए।

मतभेद

हजारौं सिरियाली आप्रवासीहरुलाई लिन इयु नीति हटाएको जर्मनीले सन् २०१५ मा मात्र ८ लाख मानिसहरुले शरण खोज्ने अनुमान गरेको छ।

उक्त संख्या सन् २०१४ को भन्दा चार गुणाले बढी हो।

शरणार्थीहरुलाई लिने अनिवार्य कोटा प्रणालीले भने इयु सदस्य राष्ट्रहरुबीच मतभेद सृजना गरिदिएको छ।

हंगेरी, चेक रिपब्लिक, पोल्याण्ड, स्लोभाकिया र रोमानिया त्यसको विपक्षमा उभिएका छन्।