सिन्धुपाल्चोकबाट विदेशिने बढे

  • 10 सेप्टेम्बर 2015
Image caption विदेशबाट पठाइने रेमिट्यान्स नेपालको अर्थतन्त्रको मुल खम्बा रहदैँ आएको छ

वैशाखका विनाशकारी भूकम्पहरुबाट सबभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लाबाट त्यसयता वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या बढ्दै गएको छ।

घरवारविहीन अनि व्यवसाय ठप्प भएकाले तथा जीविका धान्न मुश्किल परेकाले वैदेशिक रोजगारी आफूहरुका निम्ति कठोर वाध्यता बनेको ती युवाहरुको भनाइ छ।

भूकम्पयता देशभरबाट एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएको सरकारी तथ्यांक छ।

अन्य भूकम्प प्रभावित जिल्लाबाट पनि युवाहरु विदेशिने प्रवृति बढेको अधिकारीहरु बताउँछन्।

ऋण

मध्यपुर ठिमी नगरपालिकाको निलबाराहीमा ८८ वटा अस्थायी छाप्रामा भूकम्पबाट विस्थापित सिन्धुपाल्चोकका करिब अढाइ सय परिवार अहिले बसिरहेका छन्।

त्यहाँ २६ नम्बर छाप्रोमा बसिरहेका २५ वर्षका साङ दोर्जी शेर्पा मलेसिया जाने अन्तिम तयारीमा छन्।

इराकको कुर्दिस्तानस्थित एउटा होटलमा तीन वर्ष काम गरेर अघिल्लो वर्ष मात्रै नेपाल फर्किएका उनले चीनसँगको सिमाना खासाबाट सामान ढुवानी गर्ने व्यवसाय चलाउन एउटा भ्यान किनेका थिए।

साथै वैदेशिक रोजगारीमा गएका कारण रोकिएको आफ्नो पढाइलाई निरन्तरता दिने योजना बनाएका थिए।

तर भूकम्प र त्यसपछिको पहिरोले सीमाको व्यापार नाका ठप्प भएपछि गाडी किन्दा बैंङ्कबाट लिएको ऋण तिर्न समेत नसकेर विदेशिन लागेको उनले बताए।

उनले भने, “काम नभएपछि बस्दै खाँदै गर्न अब पैसा नै छैन, त्यही भएर सर-सापट गरेर बाहिर गएर आउन सकियो भने त घर बनाउन सकिन्छ नि, यत्रो भुईँचालो गएपछि सरकारले योजना ल्याउंछु तालिम दिन्छु भनेको महिनौं भइसक्यो तर केही भएन, त्यही भएर जान लागेको।”

सरकारले मलेसियासहित कतिपय खाडी मुलुकमा वैदेशिक रोजगारीमा पठाउंदा कुनै शुल्क विना प्रवेशाज्ञा र हवाइ टिकट उपलब्ध गराउनुपर्ने नियम ल्याएको छ।

तर उक्त व्यवस्था अनुसार मलेसिया जांदा तलब कम पाइने विदेश पठाउने म्यानपावर कम्पनीले बताएपछि मासिक ५० हजार तलब पाउने सुरक्षागार्डको कामका लागि २ लाख रुपैयां तिर्न लागेको उनले बताए।

बाध्यता

गाउंमा कक्षा छ सम्म अध्ययन गरी बीचमै पढाइ छाडेका ततोपानीका मिङमार शेर्पा वैशाख १२ गते भूकम्प जांदा पूर्वी नेपालको सीमावर्ती क्षेत्र सिलगुडीको एउटा गुम्बामा बौद्ध भिक्षु बन्न अध्ययन गरिरहेका थिए।

त्यस लगत्तै गाउँ फर्किएका उनले दुबई जान म्यानपावर दलाललाई आफ्नो राहदानी बुझाएका छन्।

१९ वर्ष पुगेको बताउने मिङमार त्यो भन्दा कलिला देखिन्छन् तर घर परिवारको लागि विदेशिनुको उपाय नभएको उनको भनाइ छ।

उनले भने, “घरमा दु:ख पनि छ, खान लाउनको लागि यहां बस्न नसकिने अवस्था भयो, विदेश गैइयो भने केही गर्न सकिन्छ कि भनेर जान लागेको हुँ।”

काठमाण्डूको थलीकै शिविरमा रहेकी तातोपानीकै नेहा लामाले यसबर्ष दोस्रो श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरिन्।

तर भूकम्पका कारण विस्थापित भएका कारण उच्च शिक्षा अध्ययन गर्न अन्यौल देखिएकाले उनी पनि विदेशिने मनस्थितिमा छिन्।

उनी भन्छिन्, “कलेज पढ्न त मन छ नि तर घरायसी समस्या भयो त्यही भएर विदेश नै जान चाहान्छु, इजरेल जाने भनेको तर उमेर कम भयो अब कहाँ जाने सोच्दैछु।”

महिला

खाडी तथा मध्यपूर्वका देशमा नेपालबाट ठूलो संख्यामा महिला कामदारहरु जाने जिल्लाका रुपमा पहिलेदेखिनै सिन्धुपाल्चोक चिनिन्छ।

भूकम्पले निम्त्याएको अभाव र तनावले सो प्रवृत्ति झनै झांगिएको देखिन्छ।

यी समस्याका कारण उक्त क्षेत्रमा मानव बेचबिखन बढ्न सक्ने भन्दै विभिन्न संघ संस्थाले काम गरिरहेका छन्।

एउटा गैरसरकारी संस्था हेल्भिटास अन्तर्गतको सुरक्षित आप्रवासन परियोजनाका चौतारास्थित संयोजक अष्टकुमार श्रेष्ठले भूकम्पपछि विदेशिन इच्छुक महिलाको संख्या दोब्बर भएको बताए।

उनले भने, “हामीसँग परामर्श लिन पहिला महिनामा दुई सय महिला आउने गर्थे, भूकम्पपछि ४ सयको हराहारीमा आइरहेका छन्, सरकारले १९ वर्ष भन्दा कम उमेरका लाई वैदेशिक रोजगारीमा नपठाउने भने पनि उमेर बढाएर पासपोर्ट बनाउन चाहनेहरुको संख्या पनि एकदम बढेको छ।”

सिन्धुपाल्चोकस्थित सरकारी अधिकारीहरुले पनि भुईँचालोयता जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउनेहरुको संख्या बढेको बताएका छन्।

दैनिक ५० जनाको हाराहारीमा मानिसहरुले राहदानी लिइरहेको भन्दै वैदेशिक रोजगारीमा गइरहेकाहरुको यकीन संख्या आफूसंग नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वीरभद्र गिरीले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम कक्षका अधिकारीहरुले पनि पछिल्ला दिनमा हवाइ मार्ग हुँदै विदेशिनेमा सिन्धुपाल्चोक जस्ता भूकम्प प्रभावित जिल्लाका मानिसहरु बढी रहेको जनाएका छन्।