‘बन्दले सामानको अभाव र भाउ बढ्न सक्छ’

  • 10 सेप्टेम्बर 2015
Image caption चिनसँग नेपालको मुख्य व्यापारिक नाका खासा र रसुवाको केरुङ मार्ग भूकम्पपछि चल्न सकेको छैन

छिमेकी मुलुकहरु चीन र भारतसँगका भन्सार नाकाहरु अवरुद्ध हुँदा उपभोग्य सामग्रीहरु भित्रिन नसकेकोले कैयौं वस्तुको अभाव हुन सक्ने चिन्ता व्यापारीहरुले व्यक्त गरेका छन।

नाकामा सामान रोकिँदा दैनिक विलम्ब शुल्क तिर्नुपर्ने हुँदा चाडपर्वका बेला सामानको हाहाकार र महंगी समेत बढ्न सक्ने नेपाल चेम्बर्स अफ कमर्शले बताएको छ।

नेपालको चीनसँगको मुख्य व्यापारिक नाका सिन्धुपाल्चोकको खासा र रसुवाको केरुङ मार्ग भूकम्पपछि बन्द छन।

अहिले तराई क्षेत्रमा चर्केको आन्दोलनका कारण वीरगञ्ज, भैरहवा र विराटनगरका व्यापारिक नाकाहरु पनि अवरुद्ध भएपछि आवश्यक सामग्रीहरु नेपाल भित्रिन नसकेकोमा व्यापारीहरु चिन्तित देखिएका हुन।

घाटा

व्यापारीहरुका अनुसार नाकामै अड्किएर रहेका सामानहरुमा दैनिक उपभोग्य, लत्ता कपडादेखि कच्चा पदार्थहरु छन्।

थुप्रै कच्चा पदार्थहरु नष्ट भएको बताइएको छ।

नेपाल चेम्बर्स अफ कमर्शका भन्सार हेर्ने अधिकारी निरज राईले भने, “समग्रमा सबैगरी तीन हजारभन्दा बढी कन्टेनरहरु नाकामा फसिरहेको छ, त्यसमा चीनबाट आइरहेको पाँच सय कन्टेनर अड्किएका छन्।”

सामान रोकिंदा दैनिक रुपमा करोडौंको घाटा भइरहेको बताइएको छ।

खासगरी चीनबाट ल्याइएका सामानहरु कोलकत्ता बन्दरगाहमा र भारतसहित अन्य देशबाट आएका सामग्रीहरु नेपालको नाकाका रोकिंदा दैनिक रुपमा विलम्ब शुल्क बढ्दै गएको र यसले गर्दा आगामी दिनमा बजार भाउ आकासिने सम्भावना बढेको व्यापारीहरु बताउँछन्।

महंगी

नेपाल हिमालपारी व्यापार संघका सचिव समेत रहेका राईले भने, “जति दिन कन्टेनर अड्किन्छ त्यहीँ अनुरुप हरेक दिन विलम्ब शुल्क बढिरहन्छ, यसले सामानको दर महंगिनेछ भने उपभोक्ताहरुले पनि समयमा सामान नपाउने र मूल्य वृद्धि हुने सम्भावना बढेको छ।”

नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लका अनुसार यस्तै स्थितिले निरन्तरता पाए महिना दिनभित्र नेपाली बजारमा आवश्यक उपभोग्य सामग्रीको हाहाकार हुन सक्छ।

उनले भने, “अहिले केही समयका लागि महंगोमा सामान पाइएला तर यसरी नै निरन्तरता भए एक महिनाभित्र ठूलो समस्या देखिनेछ, सामानको अभाव हुने पक्का छ।”

समस्या सामाग्री भित्राउनमा मात्र होईन नेपालबाट बाहिर पठाइने सामान समेत रोकिन पुग्दा नेपाली ब्यापारीको अन्तर्राष्ट्रिय छवि समेत बिग्रिन पुगेको बताइएको छ भने काठमाडौंबाट जिल्ला-जिल्लामा पुर्याउनुपर्ने सामानहरु पनि रोकिएको बताइएको छ।