तराईमा फेरि ६ जनाको मृत्यु

  • 11 सेप्टेम्बर 2015
तस्वीर कपीराइट none
Image caption तराईमा हिंसा चर्किएपछि तीन दलले संविधानसभाको दुई दिनको प्रकृया स्थगित गरेको बताएका छन्

धनुषा र महोत्तरी जिल्लामा शुक्रबार एकजना सुरक्षाकर्मी सहित ६ जनाको मृत्यु भएको छ।

जनकपुर नगर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर धनुषा र महोत्तरीमा २२ जना घाइते भएका बताइएको छ।

कर्फयु लगाइएको क्षेत्रमा प्रदर्शन र प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।

बिहान प्रदर्शनकारीहरुले जलेश्वरमा कुटपीट गरी घाइते बनाएको सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल तर्फ लैजाँदै गर्दा महोत्तरी जिल्लाको भगवानपुर भन्ने ठाउँमा आन्दोलनकारीहरुले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले जनाएका छन्।

हालसम्म तराईमा भएका हिंसामा करीब तीन दर्जनको ज्यान गइसकेको छ।

प्रक्रिया स्थगित

तराईको तनाव झन चर्कँदै गएपछि प्रमुख तीन दलले दुई दिनका लागि संविधान निर्माणको प्रक्रिया रोक्ने निर्णय गरेका छन्।

शुक्रबार बसेको तीन दलको बैठकले उक्त दुई दिनमा पनि वार्ता हुन नसके आइतवार ११ बजे देखि संविधान निर्माणको प्रकिया अघि बढाउने पनि निर्णय गरेका छन्।

वार्ताको वातावरण बनाउन संविधानसभाको चालु प्रक्रिया रोकिनु पर्ने माग राख्दै आएका आन्दोलनरत दलहरुले पछिल्लो प्रस्तावप्रति छलफल गरेर औपचारिक रुपमा निर्णय लिने बताएका छन्।

वार्ताका लागि तीन पटकसम्म आह्वान गर्दा पनि आन्दोलनरत तराई केन्द्रित दलहरु र थारु कल्याणकारीणी सभाले संविधान निर्माण प्रक्रिया रोक्नु पर्ने माग गर्दै आएका थिए।

उनीहरुकै मागलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, "मधेशवादी लगायतका शक्तिहरु र थारु समुदायले गरिरहेका आन्दोलनमा सामेल पक्षहरुसँग वार्ता गर्न र त्यसका लागि संविधानसभामा जारी प्रक्रिया रोक्ने निर्णय गरेका हौं।"

दुई दिनका लागि प्रक्रिया रोक्ने निर्णय गरेका दलहरुले आन्दोलनकारीसंग वार्तामा सहमति जुटे पनि नजुटे पनि आईतवार देखि भने कुनै पनि हालतमा प्रक्रिया अगाडी बढाउने निर्णय समेत गरेको बताइएको छ।

यस पटक गरिएको वार्ताको आह्वान संविधान जारी हुनु भन्दा पहिलेको अन्तिम भएको एमाले उपाध्यक्ष भीम रावलले बताए।

उनले भने, "यो संविधान जारी हुनु भन्दा अगाडीको लागि अन्तिम पटक हो। तर जारी भइसकेपछि पनि रुपान्तरित व्यवस्थापिका संसदमा जनताका जायज र उपयोगी कुराहरुमाथि हामीहरु फेरि पनि छलफल गर्न सक्छौं।"

निर्णय शनिवारमात्रै

दलहरुले गरेको यस्तो निर्णयपछि हालसम्म आन्दोलनरत कुनै पनि दल र समुहले वार्तामा आउने जानकारी तीन प्रमुख दललाई गराएका छैनन्।

आन्दोलनरत दलका धेरै जसो शीर्ष नेताहरु राजधानी आउनेक्रम भने जारी रहेको बताइएको छ।

तीन दलको यो निर्णयपछि त्यति उत्साही प्रतिक्रिया नदिएका उनीहरुले आ-आफ्नो मोर्चामा छलफल गरेर मात्र निर्णय लिने बताएका छन्।

हालै संविधान निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले भने, "लक्षण राम्रो म देख्दिन। तर हाम्रो पार्टीको अध्यक्ष शुक्रबार राजधानी आइपुग्नु भएको छ। शनिवार पार्टीको बैठक गरेर, मोर्चाभित्र पनि छलफल गरेर अनि के गर्ने भन्ने निर्णय लिन्छौं।"

त्यस्तै निर्णय गरेको संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले पनि प्रक्रियामा आउन तीन दलले लिखित रुपमा पठाएको पत्रको जवाफ शनिवार हुने उसको बैठक पछिमात्र दिने जनाएको छ।