संविधानका धारामाथि मतदानको तयारी

  • 11 सेप्टेम्बर 2015
तस्वीर कपीराइट TV grab
Image caption दफावार छलफलमा समेत सभासद्हरुको उल्लेख्य सहभागिता नभएको भन्दै आलोचना भएको छ

संविधानको मस्यौदा विधेयकको संशोधनमाथि संविधानसभामा जारी छलफल सकिए शुक्रबारदेखि संविधानका धाराहरुमाथि मतदान हुने संभावना देखिएको छ।

दलका शीर्ष नेताहरु र संशोधनमाथि बोल्न बाँकी रहेका केही सभासद्ले बोलेपछि संशोधनमाथिको छलफल सकिने छ।

संविधान निर्माण प्रक्रियाबाट बाहिरिएका दलहरु र प्रमुख दलभित्रकै कतिपय सभासद्ले अहिले जारी प्रक्रिया केही दिनका लागि रोक्न माग गरिरहँदा ‍संविधान निर्माणको कार्यतालिका भने दिनदिनै द्रुतगतिमा अघि बढि रहेको देखिन्छ।

दुई सयको हाराहारीमा बोल्ने भनेर संविधानसभामा नाम दिएका सभासद्हरुको संख्या उनीहरुकै दलका सचेतकहरुले ‍घटाएकाले शुक्रबारनै संविधानका धाराहरुमा मतदानको संभावना रहेको संविधानसभाका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए।

प्रक्रिया

उनले भने, “दफावार छलफल सकेपछि त अहिलेको अवस्था अनुसार मतदान प्रकियामा जाने संभावना छ।”

बिहिबानै प्रमुख दलका शीर्ष नेताहरुले बोल्ने जानकारी गराइएपनि उनीहरु विभिन्न वार्तामा संलग्न भएको भन्दै उपस्थित भएनन्।

शुक्रबार दलका शीर्ष नेताहरुले आफ्ना भनाई राख्ने र परेका संशोधनहरु टुङगो लगाउने काम गरिने कुइँकेलले बताए।

उनले थपे, “एक पटक आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने मौका दिइने छ, यदि उहाँहरुले फिर्ता लिनुभएन भने त्यसलाई कि समावेश गर्ने भनेर पास हुनुपर्यो, होईन भने प्रक्रियाबाट हटाउनुपर्ने अवस्था आउन सक्छ।”

संविधानसभाको परिमार्जित विधेयकमाथि ५६ वटा संशोधन प्रस्ताव परेका थिए।

फिर्ता

जसमध्ये दुईवटा फिर्ता भईसकेका छन्।

तीमध्ये पनि अधिकांश, व्यक्तिगत र संयुक्त संशोधन हाल्नेमा प्रमुख तीन दलकै सभासद्हरु छन्।

मस्यौदा तयार पारी सकेपछि पनि तीन दलले सहमति गरेका केही विषय पनि उनीहरुका सचेतकमार्फत संशोधनको रुपमा हालिएका छन्।

जुन संशोधनलाई पास गराएर संविधानमा समावेश गर्ने तीन दलको योजना छ।

प्रमुख दलहरुले आन्दोलनरत दलहरुसँग वार्ता गरेर सहमति भए सभासद्हरुले व्यक्तिगत रुपमा हालेका संशोधनहरुलाई पनि पास गराउन सकिने बताउने गरेका छन्।

आन्दोलनरत दलहरुसँग वार्ता नभए व्यक्तिगत रुपमा हालिएका संशोधनहरु ती सभासद्ले कि त दलहरुको दवावमा फिर्ता लिनुपर्ने हुन्छ, नभए ध्वनि मतमार्फत निर्णय हुने छन्।