भावी संविधानका धारामा मतदान शुरु

  • 13 सेप्टेम्बर 2015
Image caption प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत दललाई पुन वार्तामा आउन आह्वान गरेका छन्

प्रमुख दलहरुले संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरे लगत्तै आइतबार साँझबाट संविधानसभाले संविधानको परिमार्जित विधेयकका धाराहरु पारित गर्ने प्रक्रिया थालेको छ।

तीनवटा धाराहरु पारित गरेपछि उक्त प्रक्रिया सोमबार बिहान साढे ११ बजेसम्म स्थगित गरिएको छ।

यसअघि संविधानसभामा सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपछि पनि सम्बोधन गर्न सकिने भन्दै वार्तामा आउन आन्दोलनरत पक्षलाई पुनः आग्रह गरेका थिए।

आन्दोलनरत तराइ केन्द्रित दलहरुले बैठकमा अनुपस्थित भएर संविधान जारी गर्ने प्रक्रियाको विरोध गरेका छन्।

मतदान

संविधानको परिमार्जित विधेयकमाथि परेका संशोधन उपर मतदान शुरु हुने या नहुने अन्योल देखिएपनि अन्तिम समयमा संविधान जारी गर्ने प्रक्रिया नरोक्ने निर्णय ठूला दलले गरेका थिए।

त्यसको जानकारी प्रमुख तीन दलका शीर्ष नेताले संविधानसभाको आइतबार बसेको पहिलो बैठकमा गराएपछि साँझ बसेको दोस्रो बैठकले निर्णय प्रक्रिया शुरु गरेको हो।

संविधानको परिमार्जित विधेयकका तीनवटा धारा पारित गर्दै उक्त बैठक सोमबार विहान ११ बजेसम्मका लागी स्थगित गरिएको छ।

Image caption तराइ केन्द्रित दलका सभासद बैठकमा अनुपस्थित थिए

बैठक स्थगित गर्नुअघि प्रमुख तीनदलका तर्फबाट विधेयकको धारा ३ मा दर्ता गराइएको एउटा संशोधन प्रस्ताव पारित गरिएको थियो।

आन्दोलनरत तराई केन्द्रित दलका सभासद अनुपस्थित बैठकमा मतदान प्रक्रिया आरम्भ हुँदा संविधानसभामा अहिले रहेका ५ सय ९८ सदस्यमध्ये झण्डै ४ सय ६० सभासद् उपस्थित रहेको संविधानसभा सचिवालयले जनाएको छ।

त्यसअघि प्रधानमन्त्रीसहित शीर्ष नेताले बैठकमा सम्बोधन गर्दा झण्डै ५ सय १५ सभासद उपस्थित रहेको जनाइएको छ।

वार्ता

संशोधन प्रस्तावमाथिको दफावार छलफलका क्रममा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले प्रक्रिया बहिष्कार गरिरहेका तराई केन्द्रित दलका नेताहरुलाई वार्तामा आउन आह्वान गरे।

उनले भने, “यो संविधान जारी भएपछि सहमति र सुधारको सम्भावना नयाँ ढंगले शुरुवात हुन्छ, हामी फेरि पनि यो संविधानलाई परिमार्जन गर्न संवैधानिक प्रक्रियामा एक साथ बस्न र सहमति खोज्न सक्छौँ, त्यसैले सबै आन्दोलनरत पक्षलाई पुन सम्वादमा फर्कन म आह्वान गर्छु।”

प्रधानमन्त्रीले तराईमा भईरहेको आन्दोलनका क्रममा घाइते भएका र ज्यान गुमाएका आन्दोलनकारीका परिवारलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए।

आन्दोलनरत दलहरुले राखेको दंगाग्रस्त क्षेत्रबाट सेना फिर्ता बोलाउनुपर्ने माग तराईमा भईरहेका प्रदर्शन शान्तिपूर्ण र संयमित हुने वित्तिकै पुरा गरिने उनको भनाई थियो।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानसभालाई सधैँ अनिर्णयको बन्दी बनाउन नहुने भन्दै यथाशीघ्र संविधान जारी गर्नुपर्नेमा जोड दिए।

उनले भने, “संविधान जारी भएपछि पनि त्यसमा थपघट हुन नसक्ने, संशोधन हुन नसक्ने मागहरुलाई सम्बोधन गर्न नसकिने कुरा हुँदैन, तर संविधान बन्न नदिएर हिंसाको सहरामा आफ्ना कुराहरु बलजफ्ती मान्न लगाउन खोज्ने जस्ता कुराहरु उचित हुँदैनन्।”

तराई

त्यसअघि बोलेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले कतिपय आन्दोलनरत पक्षका माग र आफ्नो पार्टीको अडान मेल खाने भएपनि संविधानसभाबाट संविधान बन्ने अवसर गुम्न नदिन आफ्नो पार्टीले सम्झौता गरेको बताए।

संविधानसभाको पछिल्लो उपलब्धिलाई ऐतिहासिक भन्दै उनले संविधानले विखण्डन निम्त्याउन सक्ने भनी केही तराई केन्द्रित नेताले दिएका अभिव्यक्ति आत्मघाती र राष्ट्रघाती भएको बताए।

“काठमाण्डूका पाटी, पौवा, पोखरीहरु यहाँका मन्दिर कला अनि संस्कृति र नाचगानहरुमा मधेशको जबरजस्त छाप छ, त्यसकारण मधेशले काठमाण्डूमा पूराका पूरा आफ्ना अंश खोज्नुपर्यो, काठमाण्डूबाट अलग्गिने सोच राष्ट्रवादी सोच हुनै सक्दैन।”

बैठकमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता कमल थापाले आआफ्ना दलका फरक मत पेश गरेका थिए।

दफावार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिंदै संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानसभाले विधिवत रुपमा अघि बढाएको प्रकृयामा अन्तर्राष्ट्रिय समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे।

घुमाउरो पारामा राष्ट्रपति रामवरण यादवप्रति असन्तुष्टि जनाउँदै उनले असन्तुष्ट पक्षलाई वार्तामा ल्याउन संविधानसभाको प्रक्रिया रोक्न राष्ट्रपतिले आग्रह गरेको भन्ने खालका खबर आफूलाई विश्वास नलागेको बताए।

विरोध

यसैबीच आन्दोलनरत तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो माग संविधान नभएकाले संविधानसभाले बनाएको संविधान मान्य नहुने बताएका छन्।

उनले बीबीसीसँग भने, “यो सम्पूर्ण देशको संविधान होइन, उहाँहरुको मात्र संविधान हो त्यहीँ भएर हामी यसलाई अस्वीकार गर्छौँ।”

मतदानको प्रक्रिया सकिन केही दिन लाग्ने संविधानसभा सचिवालयले जनाएको छ।

तर राजधानीमा प्रक्रिया चलिरहँदा तराईमा जारी तनावले कस्तो मोड लेला भन्ने चिन्ता कतिपयमा देखिन्छ।

संविधानको मस्यौदा तयार भए यता तराइका विभिन्न जिल्लामा भएका हिंसामा करिब ४० जनाले ज्यान गुमाइसकेका छन्।