'अब आप्रवासी लिन कठिन'

  • 13 सेप्टेम्बर 2015
munich तस्वीर कपीराइट Getty
Image caption म्युनिखबाहेक अन्य जर्मन शहरले आप्रवासी लिन नचाहेको भन्दै आलोचना भएका छन्।

जर्मनीको म्युनिख शहरका अधिकारीहरुले उक्त शहर अब आप्रवासी धान्न नसक्ने अवस्थामा पुग्न लागेको चेतावनी दिएका छन्।

म्युनिखका मेयरले शनिबारमात्रै १३ हजार आप्रवासी उक्त शहर पुगेको बताएका छन्।

निरन्तर

उक्त दक्षिणी जर्मन शहरमा आप्रवासीहरु पुग्ने क्रम रोकिएको छैन।

म्युनिखका अधिकारीहरुले अब आप्रवासीहरुलाई बसोबासस्थलको व्यवस्था गर्न कठिन हुन थालेको बताएका छन्।

शनिबार १३ हजार प्रवेश गरेकोमा आइतबार थप १४ सय आप्रवासी पुगेको प्रहरीले जनाएको छ।

आफूहरुलाई १ हजारदेखि ५ हजारवटा सम्म स्थान आवश्यक रहेको म्युनिखका मेयरले बताएका छन्।

स्थानीय अधिकारीहरुले अस्थायी आश्रयस्थलका रुपमा पूर्व ओलम्पिक खेलकुदस्थललाई प्रयोग गर्नेबारे विचार गरिरहेका छन्।

म्युनिखबाहेक अन्य शहरले आप्रवासी लिन आनाकानी गरेको भन्दै आलोचनाहरु भएका छन्।

कठिन

अहिले पूरै युरोपले आप्रवासीहरुको ठूलो आगमनबाट उत्पन्न जटिल परिस्थितिको सामना गरिरहेको छ।

तर जर्मनीकी चान्सलर एंगेला मर्केलले ठूलो संख्यामा आप्रवासीलाई प्रवेश गर्न दिने निर्णय सही भएकोमा आफू आश्वस्त रहेको बताएकी छन्।

खासगरी हिंसा र गरीबिबाट मुक्तिका लागि सिरियाबाट आप्रवासी युरोप पुगेको बताइएको छ तर अफगानिस्तान, इरिट्रिया लगायतका मुलुकबाट पनि मानिसहरु त्यहां पुगिरहेका छन्।

आप्रवासीहरु टर्कीबाट विभिन्न ग्रीक टापु पुगेर त्यहांबाट मेसोडोनिया, सर्बिया र हंगेरी हुंदै अष्ट्रिया र जर्मनी पुग्ने गरेको देखिन्छ।