आप्रवासी पुनर्वासबारे सर्वसहमतिको अभाव

  • 15 सेप्टेम्बर 2015
आप्रवासी तस्वीर कपीराइट EPA
Image caption आप्रवासीको घुइँचो बढेसंगै युरोपमा चिन्ताहरु थपिएका छन्

करिब १ लाख २० हजार शरणार्थीहरुलाई इयु देशहरुमा बाँडीचुँडी बसाउने प्रस्तावबारे सैद्धान्तिक सहमति भएपनि थप छलफल अर्को महिनाको बैठकमा हुने भएको छ।

इयुको अध्यक्षता गरिरहेको लक्जेम्बर्गले गत साता अघि सारिएको आप्रवासी पुनर्वास कार्यक्रम अर्को महिनापछि लागू हुने सम्भावना रहेको बताएको छ।

आप्राबासीहरुलाई बसोबास गराउने अनिवार्य कोटा निर्धारण गरिएकोप्रति चेक गणतन्त्र, स्लोभाकिया र हंगेरिले आपत्ति जनाएका थिए।

तर लक्जेम्बर्ग र जर्मनीले पुनर्वास प्रस्तावबारे अधिकांश सदस्य राष्ट्रबीच सैद्धान्तिक सहमति बनेको बताए।

अव्यवहारिक

युरोपेली आयोगका उपाध्यक्ष फ्रान्स टिमरम्यान्सले युरोप आप्रवासीहरुको निम्ति ढोका बन्द गर्ने पक्षमा नरहेको बताए।

“हाम्रा सीमाहरु सबैका लागि बन्द छन् भन्नु अव्यवहारिक हुनेछ, त्यो प्रचारमुखी सुनिने छ र असम्भव हुनेछ। सबै सीमाहरु खुल्ला छन् भन्नु पनि त्यतिकै अव्यवहारिक हुनेछ र त्यस्ले युरोपेली सामाजिक ढाँचामा असर पुर्याउने छ।”

बीबीसीका ब्रसेल्सस्थित संवाददाता भन्छन् आप्रवासीहरुलाई कुनै न कुनै रुपमा व्यवस्थित गर्नेबारे छलफलहरु जारी छन्।

तथापि कतिपय देशहरुको चिन्ता छ सबै शरणार्थीहरुलाई बसोबास गर्न दिइए थप आप्रवासीहरु युरोप आउन सक्छन्।

कडाइ

हंगेरीमा गैरकानूनी रुपमा आफ्नो सीमापार गरी आउने आप्रबासीलाई पक्रिएर कानुनी कारवाही गर्ने अधिकार प्रहरीलाई दिने नयाँ कानुन लागू गरिएको छ।

प्रहरीले आप्रबासीहरु हंगेरी प्रवेश गर्ने एक प्रमुख सीमा नाका बन्द गरिदिएका छन्।

त्यो कदमले सर्वियाबाट हंगेरी प्रवेश गर्ने आप्रबासीहरुको घुँइचो कम गर्ने अपेक्षा गरिएको छ।

सीमाका तारबार पार गरि हंगेरी प्रवेश गर्न चाहानेलाई अब आधिकारिक नाकाहरुमा पुर्याइने छ।

त्यस अघि अष्ट्रिया नेदरल्याण्डस स्लोभाकिया र पोल्याण्डले आफ्ना नाकाहरुमा कडाइ गरेका थिए।

केहि महिनायता भूमध्यसागर पार गरि हजारौंको संख्यामा आप्रबासीहरु सुन्दर भविष्यको लागि भन्दै द्वन्द्वग्रस्त र विपन्न देशहरुबाट ग्रीस र इटली हुँदै युरोप छिर्ने गरेका छन्।

जुलाइको अन्त्यसम्ममा करिब साढे चार लाख आप्रबासीले युरोपका विभिन्न देशमा शरणको लागि आवेदन दिएका थिए।