हंगेरीको दक्षिणी क्षेत्रमा आपतकाल घोषणा

  • 15 सेप्टेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption सोमबार सीमा बन्द गरिनुअघि ९ हजार जनाले हंगेरी प्रवेश गरेका अधिकारीहरुले बताएका छन्

हंगेरीले आफ्नो देशमा निर्वाध रुपमा भइरहेको आप्रवासीहरुको आगमनलाई रोक्न सर्बियासँगका सीमावर्ती दक्षिणी क्षेत्रहरुमा आपतकालीन अवस्थाको घोषणा गरेको छ।

हालै निर्माण सम्पन्न भएको सीमा सुरक्षा बार नाघ्न खोजेको भन्दै हालसम्म प्रहरीले ६० जनालाई हिरासतमा लिएको छ।

देशमा आप्रवासीहरुलाई गैरकानुनी रुपमा प्रवेश गर्नबाट रोक्न बनाइएको नयाँ कडा कानुनहरु लागू भए लगत्तै हंगेरीले केही क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको हो।

यसबाट प्रहरीलाई थप अधिकार हासिल हुनेछ भने संसदको अनुमोदनमा सेना परिचालन समेत गर्न सकिनेछ।

तनाव

सोमबार मध्यरातबाट नयाँ आप्रवास कानुनहरु लागू भएपछि दशौं हजार अप्रवासीहरुले प्रयोग गरेका एउटा मुख्य रेल्वे क्रसिंग क्षेत्रलाई प्रहरीले बन्द गरिदिएको छ।

त्यहाँ लगाइएको तारबारतर्फ सयौं आप्रवासीहरु अघि बढ्दा मध्यान्हतिर तनावपूर्ण अवस्थाको सिर्जना भएको थियो।

रेल्वे क्रसिंग पार गर्न नपाउँदा केहीले त्यहाँ धर्ना दिएका थिए भने कतिपयले आक्रोशमा खानेकुरा पानी तारबार पारी फालेका थिए।

अब शरणार्थीको आवेदन दिनेहरुलाई प्रहरीले बसहरुमा हालेर पञ्जीकरण केन्द्रहरुमा लैजाने छन्।

सजाय

त्यसरी आवदेन दिनेहरुको दावीलाई अस्वीकार गरिएमा तिनीहरुलाई हंगेरी भएर अघि बढ्न दिनुको सट्टा सर्बिया फिर्ता पठाइने भएको छ।

२० हजार जना जति अष्ट्रिया प्रवेश गरेका छन्।

नयाँ कानुन अनुसार मंगलबारदेखि गैरकानुनी रुपमा हंगेरीको सीमा पार गर्नेहरुलाई फौजदारी अभियोग लगाइने छ र कानुन उल्लङ्घन गरेकाहरुविरुद्ध मुद्दा अघि बढाउन ३० जना न्यायाधीशहरुलाई तयारी अवस्थामा राखिएको छ।

सर्बियासंगको १ सय ७५ किलोमिटर लामो सिमानामा लगाइएको १३ फिट अग्लो तारबार भत्काउनेलाई पनि थुना या निष्काशनसहित नयाँ कानुनमा दण्डको व्यवस्था गरिएको छ।