संविधानको परिमार्जित विधेयक पारित

  • 17 सेप्टेम्बर 2015
Image caption सभाध्यक्ष सुवास नेम्वाङ्गले संविधानमा हस्ताक्षर गर्नका लागि शुक्रबार छुट्टयाएका छन्

संविधानसभाले नयाँ संविधानको परिमार्जित विधेयक अत्याधिक बहुमतले पारित गरेको छ।

संविधानसभामा भएको मत विभाजन प्रक्रियामार्फत ५ सय ७ मतले उक्त विधेयक पारित भएको संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले घोषणा गरे।

विपक्षमा २५ मत मात्र परेको थियो।

प्रमुख दलका नेताहरुले नेपालका लागि बुधबार ‘ऐतिहासिक दिन’ भएको प्रतिक्रिया दिएका छन।

वार्ता

संविधानसभाका अध्यक्ष नेम्वाङ्गले भने, “नयाँ संविधानको जगमा उभिएर समाधान खोज्न असन्तुष्ट पक्षलाई आग्रह गर्दछु।”

त्यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले प्रक्रियाको विपक्षमा दलहरुलाई वार्तामा आएर संवादको माध्यमबाट ऐतिहासिक विजयमा सहभागी हुन आह्वान गरे।

संविधानमा शुद्धाशुद्धि मिलाउनका निम्ति नेम्वाङ्गले एउटा समिति पनि गठन गरेका छन।

यसअघि संविधानसभाले असोज ३ गते आईतबार नयाँ संविधान जारी गर्ने समय निर्धारण गरिसकेको छ।

भावी संविधानका धाराहरुमा मतदान प्रक्रिया थालेको संविधानसभाले बुधबार सबै ३ सय २ वटा धाराहरु पारित गरेको हो।

मतदान प्रक्रियाको अन्तिममा सभाध्यक्ष सुवास नेम्वाङ्गले संविधानको प्रस्तावना, प्रारम्भ र संक्षिप्त नाम भएको ३ सय १ औ धारा निर्णयार्थ पेश गरेका थिए।

परिमार्जित

त्यसअघि सभाध्यक्ष नेम्वाङ्गले संविधानको संक्षिप्त नाम र प्रस्तावना पढेर सुनाएका थिए।

संविधानसभाको मंगलबारकै बैठकले संविधान जारी गर्ने मितिसम्बन्धी धारालाई संविधानको परिमार्जित विधेयकको अंग बनोस् भनी प्रस्ताव पारित गरेको थियो।

मंगलबार करिब १० वटा संवैधानिक अंगसम्बन्धी प्रावधान समेत पारित भएका छन्।

अब थारु, मधेशी, आदिवासी जनजाति र मुस्लिम आयोग थपिएका छन्।

संविधानसभाका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म सभासद्हरुले संविधानमा हस्ताक्षर गर्नेछन्।

संविधान आउने दिन असोज ३ गते सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले दिपावली मनाउन आह्वान गरेको विवरणमाझ आन्दोलनरत तराई केन्द्रित दलहरुले उक्त दिन ब्ल्याक आउट गर्ने तयारी गरेको एक नेताले बताए।