आप्रवासीमाथि बल प्रयोगपछि हंगेरिको आलोचना

  • 17 सेप्टेम्बर 2015
आप्रवासी तस्वीर कपीराइट epa
Image caption तनाव बढेपछि हंगेरिका प्रहरीले आप्रवासीको भीडलाई रोक्न अस्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको थियो

आफ्नो सीमा क्षेत्रमा प्रवेश गर्न खोज्ने आप्रवासीमाथि अस्रु ग्यास र पानीको फोहरा प्रयोग गर्ने हंगेरिको कदमको छिमेकी सर्विया र संयुक्त राष्ट्रसंघले कडा आलोचना गरेका छन्।

हंगेरिसँगको सीमा नजिकैको सर्वियाली शहर होर्गोसमा सयौं आप्रवासीहरु सीमा पार गर्ने प्रयास गर्दै थिए।

उनीहरुलाई रोक्न खोज्दा आप्रवासीले प्रहरीतर्फ पानीको बोतल र ढुंगा प्रहार गरेका थिए।

स्थितिलाई नियन्त्रणमा लिन हंगेरिको प्रहरीले थोरै बल प्रयोग गरेको थियो।

शेन्गेन क्षेत्र

युरोपको खुल्ला आवतजावत क्षेत्र मानिने शेन्गेन क्षेत्र प्रवेश गर्न हजारौं आप्रवासीहरु यस अघि नै हंगेरि प्रवेश गरिसकेका छन्।

थप आप्रवासीको प्रवेश रोक्ना हंगेरिले नयाँ कानून ल्याएपछि स्थिति तनावपुर्ण बनेको हो।

पछिल्लो घटनामा हंगेरिका प्रहरीले आप्रवासीको भीडलाई रोक्न अस्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको थियो।

त्यस्तो कदमको आलोचना गर्दै सर्वियाली प्रधानमन्त्रीले हंगेरी “गैर युरोपेली” र “क्रुर” भएको प्रतिक्रिया दिएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले आप्रवासीमाथि गरिएको व्यवहारबाट आफू “स्तब्ध” भएको बताए।

हंगेरिले आफ्नो कदमको बचाउ गर्दै भनेको छ जबर्जस्ती सीमा प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई रोक्ने क्रममा दुई दर्जन प्रहरी घाइते भएका छन्।

राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार १२ सय आप्रवासी क्रोएसिया प्रवेश गरेका छन्।