क्रोएसियाद्वारा सात सडक सीमा-नाका बन्द

  • 18 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption हंगेरीले सिमाना बन्द गरेपछि १० हजारभन्दा धेरै मानिसहरु क्रोएसिया प्रवेश गरिसकेका छन्

आप्रवासीहरुको बढ्दो भिडका माझ क्रोएसियाले सर्बियासँगको आठवटा सडक सीमा-नाका मध्ये सातवटा बन्द गरेको छ।

हंगेरीले सर्वियासँगको सिमाना बन्द गरेको एक दिनपछि १० हजारभन्दा धेरै मानिसहरु क्रोएसिया प्रवेश गरिसकेका छन्।

क्रोएसियाको गृहमन्त्रालयले भनेको छ, “देश पूर्णरुपमा भरिएको छ।”

जाग्रेबस्थित स्थानीय सरकारले सर्वियाबाट पुग्ने थप शरणार्थीलाई लिन क्रोएसिया असमर्थ गरहेको बताउँदै सिमानाको सुरक्षा गर्न सेनालाई तयार रहन आग्रह गरेको थियो।

क्रोएसियाका अधिकारीहरुले सिमानातर्फ जाने बाटोहरु पनि बन्द गरिएको बताएका छन्।

प्रतिक्षा

घण्टौंको पर्खाईपछि मानिसहरुमा असन्तुष्टी बढ्दा सर्वियाको सीमामा रहेका दुई ठाउँमा झडप समेत भएको थियो।

हजारौं मानिसहरु सिमानाबाट जाने सवारी साधनको प्रतिक्षामा रहेका बेला भिडले तोबार्निक र बाटिनस्थिति प्रहरी घेरा तोडेका थिए।

रात छिप्पिदै जाँदा पनि ठूलो संख्यामा आप्रवासीहरु तोबार्निक रेल स्टेसनमै थिए।

त्यहाँस्थित बीबीसीका एकजना संवाददाता भन्छिन्, “कयौं मानिसहरु दिउँसोदेखि नै यहाँको चर्को घाममा रेल स्टेसनमा पर्खिरहेका थिए। कयौंले त हंगेरीको सीमानमा तीन दिन पर्खेकाहरु पनि थिए।"

बिहिवार दिउँसो चर्को घाम र न्युन खाना तथा पानीको मारमा परेका ती मानिसहरुको भिडलाई नियन्त्रणमा राख्न प्रहरीले संघर्ष गरेको थियो।

आपतकालीन

हंगेरीको सिमाना नजिकको क्रोएसियाको शहरमा रेलबाट पुगिरहेका आप्रवासीहरुलाई पुरानो सैन्य आधारमा रात विताउन आग्रह गरिएको छ।

स्लोभिनियाका अधिकारीहरुले सीमास्थित डोबोभामा करिव २ सय आप्रवासीहरु बोकेको रेललाई आफूहरुले रोकिदिएको बताएका छन्।

उनीहरुलाई क्रोएसिया नै फिर्ता पठाइने त्यहाँको सरकारी संचार माध्यमले जनाएको छ।

भू-मध्यसागरबाट उत्तरी युरोपतर्फ लागेका आप्रवासीहरुको भिडका कारण युरोपेली संघमा राजनीतिक संकट उत्पन्न भएको छ।

युरोपेली संघका नेताहरुले संकटबारे छलफल गर्न आउँदो साता आपतकालीन सम्मेलन गर्ने भएका छन्।