सभाध्यक्षद्वारा नयाँ संविधान प्रमाणित

  • 18 सेप्टेम्बर 2015
Image caption बुधबार ५ सय ७ सभासदको मतले नयाँ संविधानको विधेयक पारित भएको थियो

सभासद्हरुको हस्ताक्षरपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले शुक्रबार नयाँ संविधान प्रमाणीकरण गरेका छन्।

संविधानको परिमार्जित विधेयकको विपक्षमा मत हालेका राप्रपा नेपालका सभासद्हरुले पनि संविधानमा हस्ताक्षर गरेका थिए।

अधिकारीहरुका अनुसार प्रमाणीकरणसँगै संविधान जारी गर्नुअघिका सबै प्रक्रिया अब पुरा भएका छन्।

नयाँ संविधानमा सभासद्हरुको हस्ताक्षरका निम्ति शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाण्डूस्थित संविधानसभाको ल्होत्से हलमा व्यवस्था मिलाइएको थियो।

हस्ताक्षर

संविधानसभा सचिवालयका अनुसार संविधानमा हस्ताक्षर गर्नका लागि कतिपय सभासद्हरु निर्धारित समयअगावै संविधानसभा भवन पुगेका थिए।

नयाँ संविधानका कतिपय विषयमा असन्तुष्टि रहँदारहँदै राप्रपा नेपालका सभासद्हरुले पनि संविधानमा हस्ताक्षर गरे।

सभाध्यक्ष सुवास नेम्वाङ्ग बाहेक ५ सय ३७ जना सभासद्हरुले संविधानमा हस्ताक्षर गरेका छन्।

सभासद्हरुले हस्ताक्षर गरेको संविधानको प्रतिलाई सभाध्यक्ष नेम्वाङ्गले प्रमाणीकरण गरेपछि त्यसको व्यहोरा संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले पढेर सुनाएका थिए।

अभिलेख

संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार संविधानसभाले शुक्रबारको प्रमाणीकरणसँगै संविधान जारी गर्नुअघिका सबै औपचारिक प्रक्रिया सम्पन्न गरेको छ।

उक्त ऐतिहासिक समारोहको तस्वीर आफ्ना मोबाइलमा कैद गर्न सभासदहरु व्यस्त देखिएका थिए।

नेपाली कागजमा छापिएका प्रमाणीकरण गरिएका संविधानका पाँच प्रति अभिलेखमा राखिने कुइँकेलले बताए।

उनले भने, "संविधानका पाँच प्रति संविधानसभाको सचिवालयमा, राष्ट्रपतिको कार्यालयमा, प्रधानमन्त्री कार्यालयमा, कानुन मन्त्रालय र राष्ट्रिय अभिलेखालयमा राख्ने व्यवस्था छ।"

प्रमाणीकरण अघिनै उक्त प्रक्रियामा सहभागी गराउनका निम्ति विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसँग प्रमुख तीन दलले गरेको वार्ता विना निस्कर्ष टुंगिएको थियो।

सहमति नभएपछि उक्त दलका सभासद्हरुले संविधानमा हस्ताक्षर गरेनन्।