काठमाण्डूमा चहलपहल, वीरगञ्जमा तनाव

  • 20 सेप्टेम्बर 2015
Image caption संविधान जारी गर्ने समारोहलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ

नयाँ संविधान जारी गर्ने भव्य तयारीमाझ राजधानीको नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा निकै चहलपहल देखिएको छ।

संविधानसभा जारी गर्ने विशेष समारोहका निम्ति संविधानसभा सचिवालयले भवनलाई दुलहीझैं सिङ्गारेको छ।

प्रवेशद्वार र संविधानसभा परिसरमा कलशहरु राखिएका छन।

काठमाण्डूस्थित विदेशी नियोगका प्रमुख, वरिष्ठ कुटनीतिज्ञ, सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहने विशेष समारोहबीच राष्ट्रपति रामवरण यादवले साँझ ५ बजे संविधान जारी भएको घोषणा गर्ने अधिकारीहरुले बताएका छन।

संबोधन

मन्त्रिपरिषद्को विहान बसेको बैठकले संविधान जारी गरेपछि राष्ट्रपतिले गर्ने संबोधनको व्यहोरा अनुमोदन गरेको छ।

यसअघि राष्ट्रपतिले संबोधन गर्न नपाउने भनिएकोमा त्यसको व्यापक विरोध भएपछि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले संबोधन गर्न दिने विषयमा सहमति गरेका थिए।

नयाँ संविधानको नाम नेपालको संविधान २०७२ हो जसमा जम्मा धारा ३ सय ८ धारा छन।

त्यसैगरी संविधानमा ३७ भाग र ९ वटा अनुसूची छन।

मृत्यु

संविधान जारी गर्ने दिन राजधानी काठमाण्डूमा चहलपहल देखिएका बेला वीरगञ्जमा तनाव देखिएको छ।

प्रदर्शनकारीहरुले कर्फ्यू तोडन खोजेपिछ प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको र चारजना घाइते भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

घाईतेहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डू ल्याउने तयारी गरिंदैछ।