ऐतिहासिक घटना: प्रमुख दल

  • 20 सेप्टेम्बर 2015
ca तस्वीर कपीराइट prakash timalsina
Image caption आइतबार एक औपचारिक कार्यक्रममाझ राष्ट्रपतिले संविधान जारी भएको घोषणा गरेका थिए

प्रमुख दलहरुले संविधान घोषणा भएपछि त्यसलाई ऐतिहासिक घटना भएको टिप्पणी गर्दै असन्तुष्ट पक्षका जायज मागलाई क्रमिक रुपमा सम्बोधन गर्दै जाने बताएका छन्।

असन्तुष्ट पक्षले भने आफ्ना मागहरुको सुनुवाइ नगरी संविधान ल्याइएको भन्दै त्यसलाई अस्वीकार गर्ने जनाएको छ।

इतिहास

संविधानसभाबाट संविधान ल्याउन झण्डै एक दशकयता प्रयासरत प्रमुख राजनीतिक तप्कामा, आइतबार विधिवत रुपमा उक्त कार्यभार पूरा हुंदाको खुशी सञ्चार भएको प्रष्ट झल्कन्थ्यो।

संविधान घोषणाको औपचारिक कार्यक्रमपछि सञ्चारकर्मीसंग कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “यो संविधानले सबै जनतालाई अधिकार दिएको छ। यो संविधान कल्पवृक्ष हो।"

संविधानसभा बैठककक्षबाट बाहिरिरहंदा प्रमुख दलका अन्य उच्चनेताहरु तथा सभासद्हरु पनि पौडेलको जस्तै धारणा राखिरहेको देखिए।

पछिल्लो प्रक्रियाप्रति केही असन्तुष्ट जस्तो देखिएका एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले भने लामो समययताको जनताको सपना साकार भएको टिप्पणी त गरे तर, संगसंगै उनले आन्दोलनकारी पक्षलाई ल्याउन नसकेकोमा सञ्चारकर्मीसंग दु:खसो पोखे।

उनले भने, “यो खुशीको क्षण हो तर तराईका, थारुका, मगरातका माग पूरा भएको छैन। त्यही भएर आधा खुशी मात्रै भएको छ।"

सचेत

भट्टराईकै पार्टीसहित प्रमुख दलहरुले रुपान्तरित संसदबाट संविधान संशोधन गरेरै भए पनि असन्तुष्ट पक्षको जायज माग सम्बोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाइसकेका छन्।

अब त्यो प्रतिवद्धता पूरा गरेमात्र संविधान पूर्ण हुने टिप्पणी गर्दै चौथो ठूलो दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले सञ्चारकर्मीसंग भने, “आन्दोलनरत पक्षलाई पनि अब मूलधारमा ल्याएमात्रै संविधानले पूर्णता पाउनेछ।"

संविधानमाथिको मतदानमा विपक्षमा मत हाले पनि राप्रपा नेपालका सभासद्हरुले संविधानको प्रतिमा भने हस्ताक्षर गरेका थिए।

तर प्रक्रियाबाटै बाहिरिएका तराई केन्द्रित दलले भने संविधानमा आफूहरुको अपनत्व नरहेको भन्दै छिटो वार्तामार्फत समस्या समाधान नगरे दुर्घटना निम्त्ने चेतावनी दिएका छन्।

तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले भने, “विगतमा हामीसंग भएका सम्झौता र अन्तरिम संविधान अनुरुप जारी नभएको संविधान हामीलाई स्वीकार्य छैन।"

यस्ता असन्तुष्टि सम्बोधनका लागि प्रमुख राजनीतिक शक्तिले अबका केही दिन कस्ता प्रयास गर्नेछन् त्यसमा नै, खासगरी, तराईमा चर्किएको तनावले लिनसक्ने मोड निर्भर रहने ठानिएको छ।

छिमेकी प्रतिक्रिया

नेपालमा संविधानसभाले नयाँ संविधान जारी गरे लगत्तै एक प्रतिक्रिया दिंदै भारतले उसको सीमा छेउका नेपाली क्षेत्रमा जारी हिंसात्मक स्थितिप्रति चिन्ता प्रकट गरेको छ।

संविधानको सीधै स्वागत नगरिएको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा नेपालमा संविधान निर्माणका सबै प्रक्रियाका दौरान भारतले संघीय, गणतन्त्रात्मक, प्रजातान्त्रिक तथा समावेशी संविधानको समर्थन गर्दै आएको उल्लेख गरिएको छ।

आइतबार नेपालमा एक संविधान जारी भएको भन्दै उसले विमति रहेका विषयहरुलाई हिंसा र जबरजस्तीबाट मुक्त वातावरणमा वार्तामार्फत समाधान गरिनुपर्ने बताएको छ।

त्यसैले नेपालको प्रगति, विकास र सौहार्दताको जग निर्माण गर्ने भन्दै भारतले नेपाली जनताप्रति शुभकामना व्यक्त गरेको छ।