नयाँ संविधान प्रारम्भ भएको घोषणा

  • 20 सेप्टेम्बर 2015
Image caption संविधान जारी हुने दिन देशका विभिन्न भागमा उल्लास मनाइएको थियो भने केहीमा विरोध कार्यक्रम भएका थिए

राष्ट्रपति रामवरण यादवले एउटा ऐतिहासिक समारोहबीच आइतबार नेपालको संविधानमा हस्ताक्षर गर्दै त्यसको कार्यन्वयन प्रारम्भ भएको घोषणा गरेका छन्।

संविधानसभाको अत्यधिक बहुमतबाट पारित नयाँ संविधानले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता जस्ता विषय संस्थागत गरेको छ।

संविधानसभामा सम्बोधन गर्दै राष्ट्रपति रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले राष्ट्रिय एकता र नयाँ संविधानको संरक्षणमा जोड दिए।

संविधान घोषणाको ऐतिहासिक समारोहमा तराइ केन्द्रित दलका सभासद्हरु भने अनुपस्थित रहेका थिए।

अविस्मरणीय

नयाँ संविधान घोषणा गर्ने बोलाइएको ऐतिहासिक संविधानसभाको बैठकमा आफ्नो समुदायको संस्कृति झल्काउने खालका भेषभुषासहित सहभागी सभासद् र पाहुनाले रंग थपेका थिए।

संविधानसभा बैठकमा राष्ट्रपति यादवले सभाध्यक्षद्वारा प्रमाणित पाँचवटा संविधानका प्रतिमा ढोग्दै हस्ताक्षर गर्दै गरेका थिए।

बहुप्रतिक्षित संविधान घोषणाको घडीमा उनले भने, “नेपालको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु।”

राष्ट्रपतिले उक्त घोषणा गरे लगत्तै नयाँ संविधानको स्वागतमा संविधानसभामा तालीको गडगडाहट गुञ्जिएको थियो।

५ सय ३७ जना सभासदले हस्ताक्षर गरेको नयाँ संविधानले ०६२/०६३ को जनआन्दोलनका मूल राजनीतिक उपलब्धि भनिएका गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विषय संस्थागत गरेको छ।

आह्वान

३५ भाग र ३ सय ८ धारा रहेको संविधान जारी गर्ने समारोहमा संविधानसभाको प्रक्रियाबाट अलग रहेका तराइ केन्द्रित दलका सभासदहरु अनुपस्थित थिए।

आफ्नो सम्बोधनमा राष्ट्रिय एकतामा जोड दिएका राष्ट्रपति यादवले संघीयतासहितको संविधानको संरक्षण गर्ने सबैको जिम्मा भएको बताए।

उनले भने, “म यस ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता, एकता र मेलमिलापका साथ यस संविधानसभाबाट प्राप्त भएका जनताका अधिकार, उपलब्धि र संघीयतासहितको राज्य संरचनालाई संरक्षण सम्बर्द्धन र प्रवर्द्धन गर्न आह्वान गर्दछु।”

राष्ट्रपतिले सम्बोधन गरे लगत्तै संविधानसभा अध्यक्षले दोस्रो संविधानसभाले गरेका काम कारवाहीबारे जानकारी गराएका थिए।

उनले नयाँ संविधानको सफल कार्यान्वयनमा जोड दिएका नेम्वाङ्गले लोकतान्त्रिक पद्धतिमार्फत नै समाधान खोज्न असन्तुष्ट पक्षलाई आह्वान गरे।

उनले भने, “आफूले भनेको जस्तो भएन भनेर प्राप्त भईसकेका उपलब्धिहरुको महत्व कम गर्ने र जनादेशको सम्मानमा आँच आउने काम कसैले पनि नगरौँ भन्ने म विनम्र अनुरोध गर्दै संवैधानिक व्यवस्था अनुसारको लोकतान्त्रिक पद्धतिमा शरिक हुन यस पावन अवसरमा म सबैलाई आह्वान गर्दछु।”

प्रतिक्रिया

सयौँ मानिसहरुले संविधानसभाको चौरमा संविधान घोषणा समारोहको प्रत्यक्ष प्रसारण प्रोजेक्टरमा हेरेका थिए।

पहिलो संविधानसभाले ४ वर्षमा संविधान बनाउन नसकेपछि दुई वर्षअघि निर्वाचित गरिएको दोस्रो संविधानसभाले आफ्नो एक सय ३५ औँ बैठकमा संविधान लेख्ने आफ्नो जिम्मेवारी पूरा गरेको हो।

“नेपालको संविधान” नाम रहेको नयाँ संविधानका प्रतिहरु राजपत्रमा प्रकाशित गरी आइतबारबाटै बाँड्न थालिएको छ।

दश वर्षको सशस्त्र द्वन्द्पछि माओवादीसँग भएको शान्ति सम्झौताका आधारमा २०६४ सालमा पहिलो संविधानसभाको चुनाव गरिएको थियो।

नयाँ संविधानको घोषणासँगै गत ९ वर्षमा १२ पटक संसोधन गरिएको नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको छ र संविधानसभा पनि अब केवल संसदमा रुपान्तरित भएको छ।

संविधान जारी भए लगत्तै देशका अधिकांश भागमा संविधानको उल्लासपूर्ण स्वागत गरिएको छ।

तर तराइ क्षेत्रका कतिपय भागहरूमा विरोध पनि भईरहेका छन् जसका क्रममा वीगञ्जमा एकजना आन्दोलनकारीको ज्यान गएको छ।