आप्रवासी समस्या: विपक्षी आक्रोशित

  • 23 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption आप्रवासीहरु दैनिक हजारौं संख्यामा युरोप प्रवेश गरिरहेका छन्

युरोपियन युनियनका आन्तरिक मन्त्रीहरुले १ लाख बीस हजार आप्रवासीलाई युरोप महादेशका विभिन्न देशले बाँडेर लिने निर्णय गरेपछि मध्य युरोपेली देशहरुले आक्रोशित प्रतिक्रिया दिएका छन्।

यो योजना अनुसार आप्रवासीहरु इटली, ग्रीस र हंगेरीबाट इयुका अन्य मुलुकमा सारिनेछन्।

तर रोमानिया, चेक रिपब्लिक, स्लोभाकिया र हंगेरीले अनिवार्य कोटा स्वीकार गर्ने विरुद्ध मतदान गरेका छन्।

चेकका राष्ट्रपति माइलोस जेम्यानले भने- 'यो कत्रो गल्ती हो भन्ने भविष्यले मात्र देखाउन सक्छ।'

विपक्षमा मतदान

स्लोभाकका प्रधानमन्त्री रोबर्ट फिकले कुनै पनि शर्त नमान्ने र बहुमतको उक्त निर्णय पनि नमान्ने बताए।

चेकका आन्तरिक मन्त्रीले 'हामीले छिटै गल्ती महशुस गर्नेछौं' भनेका छन्।

लाटभियामा सयौं मानिसहरुले यो निर्णयको विरुद्ध प्रदर्शन गरेका छन्।

हंगेरीले भने यो निर्णय मान्ने बताएको छ।

इयुको नियम अनुसार कुनै निर्णय मान्न मन नलागे युरोपियन काउन्सिलमा आवेदन गर्न सकिने व्यवस्था छ।

पारित

बैठकको अध्यक्षता गरेका लग्जमबर्गका विदेश मन्त्रीले विपक्षमा रहेका देशहरुले पनि निर्णय कार्यान्वयन गर्नेछन् भन्नेमा आफुलाई शंका नरहेको बताए।

मतदानमा फिनल्याण्ड अनुपस्थित रह्यो। शुरुमा प्रस्तावको विरोध गरेको पोल्याण्डले पक्षमा मतदान गर्यो।

यो योजना ब्रसल्समा युरोपियन युनियनका नेताहरुले बुधबार पारित गर्नुपर्नेछ।