‘कोइरालाद्वारा न्यू योर्क नजाने निर्णय’

  • 23 सेप्टेम्बर 2015
कोइराला तस्वीर कपीराइट AFP
Image caption न्यू योर्क भ्रमणमा जाने कार्यक्रम रद्द भएपछि कोइरालाले देशभित्रको समस्या समाधानमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ

तराइ क्षेत्रमा जारी तनावका कारण देखिएको अन्यौलका माझ प्रधानमन्त्री सुशील कोइरालाले अन्तिम समयमा आफ्नो अमेरिका भ्रमण रद्द गरेको उनी निकट एक मन्त्रीले बताएका छन्।

कोइराला एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार साँझ न्यू योर्क जाने कार्यक्रम थियो।

कोइरालाका एक सल्लाहकारका अनुसार प्रधानमन्त्री कोइराला देशमा उत्पन्न संकटका माझ “केहि दिनअघि देखि नै अमेरिका भ्रमणमा जाने की नजाने” भन्ने अन्यौलमा थिए।

“तर देशको परिस्थितिका कारण उहाँले अहिले न्यू योर्क नजाने निर्णय गर्नु भएको छ,” सुचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले बीबीसीलाई भने।

“सो भ्रमण अत्यन्त महत्वपूर्ण हुँदाहुँदैपनि उहाँले नजाने निर्णय गर्नु भएको छ।”

'तयारी'

कोइराला नजाने भएपछि अब नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कस्ले गर्छ त्यो बुधबार दिउसो सम्म प्रष्ट भइसकेको थिएन।

अमेरिकाको न्यू योर्कमा कोइरालाको राष्ट्रसंघीय महासभामा भाग लिने र त्यसकै सेरोफेरोमा उनको छिमेकी भारत तथा चीन लगायतका देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुसंगको भेटभाटको लागि तयारी अघि बढिरहेको थियो।

संविधान जारी भएपछि तराईमा देखिएको अशान्तिका बिच उनलाई कतिपय नेताले भ्रमणमा नजान आग्रह गरेका थिए।

न्यू योर्कस्थित राष्ट्रसंघ मुख्यालयमा महासभाको वैठकमा आगामी १५ वर्षका लागि लिइने विश्वव्यापी दिगो विकासका लक्ष्यहरु सम्वन्धी छलफलमा हुने कार्यक्रम छ।

कोइरालाले असोज १४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम थियो।