‘राजमार्ग र भन्सार नाका ठप्प पार्ने’

  • 23 सेप्टेम्बर 2015
तस्वीर कपीराइट prabhat jha
Image caption नयाँ संविधानको विरोध गर्दै तराईका ठाउँठाउँमा त्यसका प्रति जलाइएका छन्

तराईमा आन्दोलनरत दलहरुको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आमहडताललाई जारी राख्दै राजमार्ग र भन्सार नाका ठप्प पार्ने निर्णय गरेको छ।

आन्दोलनलाई निर्णायक बनाउने भन्दै मोर्चाले वार्ता र संवादलाई खुल्ला राख्ने तर पुराना सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ।

ठप्प

मोर्चाले आमहडताललाई निरन्तरता दिंदै भन्सार नाका, राजमार्ग र सरकारी कार्यालयहरु अवरुद्ध गर्ने निर्णय गरेको छ।

राजमार्ग अवरुद्ध नहुँदा काठमाण्डौंले माग नसुनेको मोर्चाको निष्कर्ष छ।

भारतीय पक्षले सीमा नाकामा कडाई गरे लगत्तै मोर्चाले नाका अवरुद्ध गर्ने कार्यक्रम अघि सारेको छ।

सप्तरीको राजबिराजमा दुई दिनसम्म चलेको बैठकको निर्णय सुनाउँदै मोर्चामा आवद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन निर्णायक र अन्तिम हुने बताए।

“आन्दोलन थप प्रभावकारी बनाउन हामीले भन्सारका नाका, राजमार्ग अनि सरकारी कार्यालय ठप्प पार्ने निर्णय गरेका छौं,” उनले भने।

झडपको संभावना

हाल राजमार्गलाई निषेधित क्षेत्र घोषणागरि सेना परिचालन गरिएको छ।

कडा सुरक्षाबीच सवारी साधनहरु राजमार्गमा चल्दै आएका छन्।

यसअघि राजमार्ग अवरुद्ध गर्ने क्रममा सप्तरीको भारदहमा दुईजनाको ज्यान गइसकेको छ।

तराईमा रहेका विभिन्न मोर्चा र संघसंगठनहरुसित सहकार्य गर्न बैठकले कार्यदल गठन गरेको अध्यक्ष महतोले बताए।

वार्ताका लागि मोर्चाले राखेका शर्त पूरा गरिए सरकारसित संवाद हुने उनको भनाई छ।

मोर्चाको पछिल्लो निर्णयले आन्दोलन फेरी चर्किने सम्भावना बढेको विश्लेषकहरुको अनुमान छ।