'हजमा ७०० भन्दा बढी तीर्थयात्रीको मृत्यु'

  • 24 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Saudi Civil Defence Directorate

साउदी अरेबियामा भइरहेको इस्लाम धर्मावलम्बीहरुको वार्षिक हज तीर्थाटनमा भागदौड मच्चिँदा मारिनेहरुको संख्या सात सय नाघेको अधिकारीहरुले जनाएका छन्।

अाठ सय अन्य घाइते भएका बताइएको छ।

साउदी अधिकारीहरुका अनुसार पवित्र शहर मक्का नजीकैको मिना भन्ने स्थानमा भागदौडको क्रममा त्यस्तो दुर्घटना भएको हो।

हज तीर्थाटनमा संसारभरीका २० लाख भन्दा बढी मुसलमानहरु सहभागी भइरहेका छन्।

स्थिति

यो वर्षको हज तीर्थाटनको आरम्भमा नै इस्लाम धर्मको सबैभन्दा पवित्र स्थान, मक्कास्थित ठूलो मस्जीद, मा एउटा क्रेन भत्किँदा १०० जना भन्दा बढीको ज्यान गएको थियो।

साउदी नागरिक प्रतिरक्षा निकायको सामाजिक सञ्जालको वेबसाइटमा राखिएका तस्वीरहरुमा पहेंलो रंगको हेलमेट लगाएका सहायताकर्मीहरुले घाइतेहरुको हेरविचार गरिरहेका देखाइएको थियो।

शैतानमाथि ढुँगा प्रहार गर्ने परम्परागत प्रचलनका क्रममा भागदौड मच्चिएको बताइएको छ।

हजका क्रममा भागदौड मच्चिने र मानिसहरुको ज्यान जाने घटना पटक पटक हुने गरेका छन्।

सन् २००६ मा शैतानमाथि ढुँगा प्रहार गर्ने प्रचलनकै क्रममा भागदौड मच्चिँदा कम्तीमा ३६० जना तीर्थयात्रीहरुको ज्यान गएको थियो।

सन् १९९० मा पवित्र धार्मिक स्थलहरु तर्फ जाने एउटा सुरुङ भित्र भागदौड मच्चिँदा चोधसयभन्दा बढी तीर्थयात्रीहरुको ज्यान गएको थियो।

साउदीहरुले यस्ता दुर्घटनाहरु हुन नदिन यातायात र अन्य पूर्वाधारहरुको सुधारमा ठूलो रकम खर्च गरेका छन्।

दुर्घटना

तर यस्ता दुर्घटनालाई पुरै रोक्न सकेका छैनन्।

मक्काबाट केवल पाँच किलोमिटर टाढा रहेको मीना उपत्यकामा एकलाख साठीहजार भन्दा बढी टेन्टहरु लगाइएका छन्, जहाँ लाखौं तीर्थयात्रुहरुले रात बिताउने गर्छन्।

इस्लाम धर्म अनुसार शारीरिक अवस्था तन्दुरुस्त रहेको र आर्थिक स्थिति सक्षम रहेको हरेक मुसलमान धर्मावलम्वीले आफ्नो जीवनकालमा कम्तीमा एकपटक हज यात्रा गर्नुपर्ने हुन्छ।

हज यात्रा गरेर आएकाहरुलाई हाजी भनिन्छ र समाजमा उनीहरुलाई सम्मानको दृष्टिले पनि हेरिन्छ।